आफ्नो डाक्टर आफै बनौँ भन्दै गैँडाकोट १ मा स्वास्थ्य सचेतना 

२०७८ पौष ३० शुक्रबार १९:४०:०० मा प्रकाशित


गँैडाकोट ३० पौष । गैँडाकोट वाड नं. १ मा शुक्रबार स्थानीयहरुलाई स्वास्थ्य सचेतना प्रदान गरिएको छ । आफ्ना बारेमा आफै जानौँ, आफै डाक्टर बनौँ भन्ने उद्देश्यका साथ एक दिने योग तथा प्राकृतिक चिकित्सा प्रशिक्षण एवं परामर्श कार्यक्रम गरिएको हो । जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नेतृत्वमा स्वास्थ्य मापदण्ड अपनाउँदै स्वास्थ्य सचेतना कार्यक्रम गरिएको थियो । कार्यक्रममा टोलविकास संस्था तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा गैँडाकोट नगरपालिका वाड नं. १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटाले मानिस सुखि र खुसी रहनका लागि सबैभन्दा पहिला स्वस्थ रहन आवश्यक रहेको बताउनुभयो । वडाको समुन्नतीका लागि वडाबासी स्वस्थ रहन आवश्यक हुन्छ, यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने धारणा राख्नुभएको छ । 


जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मोतिचन्द्र चालिसेले प्रकृति र मानिस पञ्चभौतिक तत्वबाट बनेको हुँदा मानिसले प्राकृतिक चिकित्सा र व्यवहारमा परिवर्तन ल्याउन आवश्यक रहेकोमा जोड दिनुभयो । 


कार्यक्रममा प्रकृति मानव प्रेमि समाज नेपालको सहजीकरण, नाट फ्रेस हेल्थ केयर प्रालि चितवनको सहयोग, सामुदायिक रेडियो विजय एफएम १०१.६ सञ्चार साझेदार रहेको थियो । कार्यक्रम आयोजकको रुपमा जलुके खानेपानी, गैँडाकोट नगरपालिका वाड नं. १ को कार्यालय, मौलाकालि सामुदायिक वन र धार्मिक सेवा समिति मौलाकालिका मन्दिर रहेका थिए । 
मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटा, प्रकृति मानव प्रेमि समाज नेपालका अध्यक्ष लक्ष्मण पुरीले अनुकरणीय कार्यक्रम रहेको बताउनुभयो । कार्यक्रममा डा. संग्राम पुरीले घरमै गर्न सकिने उपचार तथा विधिका सन्दर्भमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको सहजीकरण मौलाकालि वनका कोषाध्यक्ष कमल कंडेलले गर्नुभएको थियो भने कार्यक्रममा जनप्रतिनिधि, टोलविकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।