कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय

२०७८ पौष २५ आइतबार १९:३६:०० मा प्रकाशित

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ ।  आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसी को बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको छ ।

त्यस्तै अभिभावकहरुलाई पनि बालबालिका विद्यालय नपठाउन आग्रह गर्ने निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिनुभयो । 

सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ ।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो ।

बैठकले सार्वजनिक स्थलमा हुने राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गरेको छ । नगरी नहुने नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ ।