सहयात्री बचतको २६ औँ साधारण सभा सम्पन्न

२०७८ पौष २४ शनिबार १८:१९:०० मा प्रकाशित

 

गैंडाकोट । सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैँडाकोट ७ को २६ औँ वार्षिक साधरण सभा सम्पन्न भएको छ । आज कार्यालय परिसरमा भएका कार्यक्रममा गैँडाकोट ७ का वडाध्यक्ष चोलानाथ उपाध्यायले सहकारीलाई सहि मार्गमा अगाडि बढाउन सहकारीको मूल्य र मर्मलाई आत्मसात गर्नुपर्ने बताउनुभयो । चाहिएको बेला सहकारीबाट ऋण लिने र समयमै इमान्दार भएर ऋण चुक्ता गरे सहकारी सञ्चालनमा सहज हुने बताउनुभयो । पछिल्लो समयमा सहकारीमा महिलाको सहभागीता बढेकोमा खुसी व्यक्त गर्नुभयो ।

सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्षुमण ओझाले २४ सै घण्टा मोबाइल बैंकिङ सेवालाई परिस्कृत बनाउँदै संस्थालाई प्रविधीमैत्रि बनाउन जोड दिएको बताउनुभयो । कोरोनाका कारण गरिएको लकडाउनले संस्थामा ऋण लगानी, असुली, बचत सकंलन जस्ता कार्य प्रभावित भएको र संस्थामा तरलता वृद्धि भई नाफामा नकारात्मक असर पारेको बताउनुभयो । अशक्त तथा असहाय सदस्यहरुको बचत सकंलन तथा फिर्ता घर आँगन बाटै गरिने, विभिन्न संघ संस्थाहरुसँग समन्वय गरि गरिब जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिएको उहाँले बताउनुभयो।
संस्थाको प्रगति प्रतिवेदन संस्थाका व्यवस्थापक कृष्णप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको थियो। उहाँले संस्थाले अवलम्बन गरेका नीति, विधि र प्रविधिलाई सदस्यहरुले अंगिकार गर्दै सदस्यहरुमा एकरुपता र कर्मचारीको लगनशीलता, प्रतिबद्धता र निरन्तरता उपलब्धि भएको बताउनुभयो ।
संस्थाको आयव्यय प्रस्तुत गर्दै कोषाध्यक्ष सावित्री खवासले समय सापेक्ष बचत तथा ऋण सेवामा ब्याजदर समायोजन गर्दै लगिएको बताउनुभयो । उहाँले २०७८ अषाढ मसान्तसम्म संस्थाको २ करोड ११ लाख ५६ हजार रुपैयाँ पूँजी निर्माण भएको बताउनुभयो । गत वर्षको तुलनामा शेयर पूँजी ३०.०८ प्रतिशतले बृद्धि, कुल सम्पत्ति २१.७० प्रतिशतले बृद्धि, कुल बचत २०.१८ ले वृद्धि भएको बताउनुभयो।
कार्यक्रममा प्रवर्धकिय संस्था सहयात्री नेपालका अध्यक्ष भिमप्रसाद सापकोटा, संस्थापक अध्यक्ष गोविन्दप्रसाद सापकोटा, पूर्व अध्यक्ष एवम निर्वाचन समिति संयोजक तारापति त्रिपाठी, लेखा संयोजक होमनाथ सापकोटा, शिवशक्ति दुग्ध उत्पादक सहकारि संस्था लिमिटेडका उपाध्यक्ष मोतिलाल ढुङ्गाना, सूर्यदीप नारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष दीपादेवी सापकोटा, वडा सदस्यहरु इश्वरीप्रसाद चापागाईं, उमा सापकोटा लगायतको उपस्थिती रहेको थियो ।