एमालेको नेतृत्व चयनका लागि मतदान जारी, निर्वाचन परिणामलाई सहज लिने भीम रावलको भनाइ

२०७८ मङ्सिर १४ मंगलबार ०६:१५:०० मा प्रकाशित


नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवशन अन्तर्गत आज विहान ४ बजेबाट निर्वाचन जारी रहेको छ । अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि मतदान भइरहेको छ । आज विहान करिव ४ बजेतिर सुरु भएको मतदानमा नकपा एमालेका शीर्ष नेताहरुले मतदान गरिसकेका छन् । 


मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्षका उम्मेदवार भीम रावलले पार्टीको नीति र सिद्धान्त बमोजिमको यो अभ्यासले लोकतन्त्रलाई बलियो बनाउने बताउनुभयो । सदस्य नवीकरण, वितरण र प्रतिनिधि प्रतिनिधि चयनमा ब्यापक रुपमा गलत काम भएका भएपनि निर्वाचनबाट आउने परिणामलाई सहज रुपमा लिने बताउनुभएको छ ।  


निर्वाचन आयोगका अनुसार अब अध्यक्ष, उपाध्यक्ष र सचिवका साथै ७ वटा क्लस्टरका केन्द्रीय  सदस्यहरुका लागि चुनाव भइरहेको छ ।


अध्यक्षमा केपी शर्मा ओली र भीम रावल उम्मेदवार छन् भने ६ उपाध्यक्षका जागि अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ उम्मेदवार रहनुभएको छ । उपाध्यक्षमा पूर्व माओवादी नेता रामबहादुर थापा बादलका लागि अग्नी परिक्षा रहेको छ । रामबहादुर थापा बादल संस्थापन पक्षबाट नेकपा एमालेको उपाध्यक्षमा प्रस्तावित रहनुभएको छ । तर, उहाँले अब चुनाव लडेर एमालेका घघडान नेतालाई हराउँदै उपाध्यक्ष पद सुनिश्चित गर्नुपर्ने परिबन्द आइलागेको छ ।

यसअघि राष्ट्रियसभाको चुनावमा बादल एमालेभित्रकै अन्तर्विरोधको शिकार बनेर डा. खिमलाल देवकोटासँग पराजित भएका थिए । माओवादी छाडेर एमालेमा प्रवेश गरेपछि बादलले अहिले दोस्रोपटक चुनावी ब्याटलमा आफूलाई उभ्यानुभएको छ । 


सात सचिवका लागि गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंक कार्की, टोपबहादुर रायमाझी, पद्मा अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट चुनावी मैदानमा रहनुभएको छ । उपाध्यक्षमा रामबहादुर थापा बादललाई सकस परेजस्तै सचिवमा उम्मेदवारी दिएका पूर्वमाओवादी नेता टोपबहादुर रायमाझी र लेखराज भट्टराई पनि एमाले पृष्ठभूमिका नेताहरूलाई हराएर आफ्नो सिट सुरक्षित गर्नुपर्ने चुनौती थपिएको छ ।


यस्तै केन्द्रीय सदस्यतर्फ खुला ८४ सदस्यका लागि चुनाव हुनेछ । प्रदेश १ को खुला ६ तथा महिला ३ सदस्यका लागि चुनाव हुनेछ । सुदूर पश्चिम प्रदेशको महिला ३ सदस्यका लागि पनि चुनाव हुनेछ । दलित खुला ८, थारु खुला ५ र पिछडिएको क्षेत्र खुला ३ सदस्यका लागि पनि चुनाव भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

 

तस्वीर साभार इकान्तिपुरबाट