नवलपुरमा कोइराला र पौडेलको साझा उम्मेदवार, साझा उम्मेदवार प्रदेश अधिवेशनपछि एकिन गरिने

२०७८ मङ्सिर १३ सोमबार १७:२५:०० मा प्रकाशित


नवलपुर ।  नेपाली काँग्रेस नवलपुरको जिल्लामा कोइराला पक्ष र पौडेल पक्षको साझा उम्मेदवार हुने लक्षण देखिएको छ ।  अधिवेशन नजिकिँदै जाँदा समिकरण फेरिने संभावना रहेको छ । क्षेत्रिय अधिवेशनसम्म आउँदा जिल्लामा महामन्त्री शशांक कोइराला र शेरबहादुर देउवा समुहले प्यानल बनाएर चुनावी प्रतिष्पर्धा गरेका थिए भने रामचन्द्र पौडेल समुहले छुट्टै प्यानल बनाएर मैदानमा उत्रिएको थियो ।   


स्रोतका अनु्सार काठमाडौंमा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोइरालाकै उपस्थितीमा साझा उम्मेदवार बनाउने सहमति भएको छ । सहमतिमा घात नभए जिल्लामा साझा उम्मेदवार हुने स्रोतले जानकारी दिएको छ । जिल्लामा पौडेल निकट महेन्द्रध्वज जिसि, डा कोइराला निकट मदनभक्त अधिकारी लगायतका नेताहरु सभापतीका आकाँक्षी छन् । छलफलमा सहभागी एक नेताका अनुसार कुनै निर्णय भएको छैन तर पौडेल र कोइरालाले साझा उम्मेदवार उठाउने सैद्धान्तिक सहमती भएको  छ । जिल्लामा कुन पक्षका उम्मेदवारलाई साझा उम्मेदवार बनाउने भन्ने कुरा प्रदेश अधिवेशन पछि निक्र्योल हुने स्रोतले जनाएको छ । 


यस अघि क्षेत्रीय अधिवेशन सम्म महामन्त्री कोइराला र सभापती देउवा पक्षले संयुक्त रुपमा उम्मेदवारहरु चुनावी मैदानमा पठाएका थिए । पौडेल र कोइराला पक्षले जिल्ला अधिवेशनमा सहकार्य गर्ने मोटामोट सहमती जिल्लामानै भएको थियो । त्यसलाई अन्तिम रुप दिन जिल्लाका नेताहरु आईतबार काठमाडौ गएका थिए ।


नवलपुर काँग्रेसले मंसिर १९ गतेलाइ अधिवेशन तोकेको थियो तर केन्द्रीय निर्वाचन समितिले प्रदेश अधिवेशन १८ र १९ गतेलाई सारेपछि जिल्ला अधिवेशन अनिश्चित बनेको छ । काँग्रेस जिल्ला सचिव बालकृष्ण घिमिरेले महाधिवेशन अघि जिल्ला अधिवशेन गर्न अब संभव नभएकाले जिल्ला अधिवेशन महाधिवेशन पछि हुने बताउनुभयो ।