चितवनमा एमालेको महाधिवेशनको सरगर्मी बढ्यो (अडियो रिपोर्ट)

२०७८ मङ्सिर ९ बिहीबार १९:४९:०० मा प्रकाशित


चितवन । एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि चितवनको नारायणगढमा नेता कार्यकर्ताको भीड लागेको छ । तर महाधिवेशन स्थलको सम्पूर्ण तयारी सकिएको छैन । भोलि विहानसम्म सबै काम सक्न तयारीमा खटिएकाहरुलाई भ्याईनभ्याई छ । 


नेपालगञ्जका एमाले नेता दीपा शर्मा महाधिवेशन स्थल नारायणगढ आएको चार दिन भयो । उहाँ लगातार अरु महिला नेताहरुसँगै व्यवस्थापकिय तयारीमा खटिनुभएको छ । 
नारायणगढका सडक र चोकहरुमा एमाले झण्डा र तुल व्यानर टाँगिएका छन् । त्यसका लागि पनि नेता कार्यकर्ता खटिरहेका छन् । कञ्चनपुरका संघीय सांसद दीपक प्रकाश भट्ट पनि व्यवस्थापिकय तयारीमै जुटिरहनुभएको छ । 


उद्घाटन समारोहका लागि मंसिर १ गतेदेखि नै मञ्च व्यवस्थापनको काम भईरहेको छ । पाँच सयजना अटाउने गरी बनाईको मञ्चले अन्तिम रुप लिएको महाधिवेशन व्यवस्थापन समितिका सदस्य विनोद श्रेष्ठले बताउनुभयो । 


एमाले महाधिवेशनस्थल वरवर ५ हजार स्वयम्सेवक खटिने एमाले सचिव योगेश भट्टराईले बताउनुभयो ।  देशका विभिन्न स्थानबाट नेता कार्यकर्ता चितवन आउने क्रम जारी छ । अहिले चितवनका सबैजसो होटल भरिएका छन् । 

महाधिवेशन स्थलबाट माया कंडेलको रिपोर्ट सुन्नुहोस