नेकपा एमालेको १० औँ महाधिवेशन चितवनमा भोली देखि सुरु हुँदै 

२०७८ मङ्सिर ९ बिहीबार १९:३५:०० मा प्रकाशित


चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन शुक्रबार भोली देखि चितवनमा सुरु हुँदै छ ।  मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आतिथ्य शाखा नेकपा (एमाले) चितवनले जनाएको छ । महाधिवेशनको खुला सत्र नारायणगढ तर्फको नारायणी किनारमा हुनेछ भने बन्द सत्र सौराहमा गर्ने गरि तयारी गरिएको छ । 


१० औँ महाधिवेशनले १५ पदाधिकारीसहित २२५ केन्द्रीय कमिटी तथा लेखा र अनुशासन आयोगमा १५ र १५ जना निर्वाचित गर्नेछ । मंसिर ११ गते विहान ८.३० बजेबाट महाधिवेशनको बन्दसत्र सुरु हुने कार्यक्रम तय गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ । बन्दसत्रमा एमाले अध्यक्ष केपी ओली र विदेशी पाहुनाहरुले सम्बोधन गर्नेछन् । मंसिर ११ गते बेलुका साँझ ६ बजेसम्म उम्मेदवार दर्ता, दावी विरोध र फिर्ताको समय निर्वाचन आयोगले बनाएको छ । सोही दिन साँझ ६.३० उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।


मंसिर १२ गते विहानबाट मतदान सुरु हुनेछ । मतदानका लागि एक सय भोटिङ मेसिन ल्याइएको छ । तीमध्ये ९० बटा प्रयोगमा ल्याइनेछ भने, १० वटा जगेडा राखिनेछ । १२ गते बेलुकासम्म मत परिणाम आइसक्ने प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो । १३ मंसिरमा चितवन घोषणा पत्र जारी भएर महाविधेशन सकिने उनले जानकारी दिनुभएको छ । 


महाधिवेशनमा प्रधानमन्त्री आउने


एमालेको १० औं राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा चितवन आउने हुनुभएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा महाधिवेशनको उद्घाटन समारोहमा आउने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभएको छ । नेकपा एकीकृत (समाजवादी) लाई निम्ता नदिएको एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने निम्ता दिएको छ । 


महाधिवेशनमा प्रचण्ड सहभागि नहुने 


तर, नेकपा महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी नहुने हुनुभएको छ । चितवनमा हुने एमाले महाधिवेशन उद्घाटन समारोहमा प्रचण्ड नआउने उहाँको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्ड पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन शुक्रबार काभ्रे जाने सचिवालयले जनाएको छ । 


चितवनका एमाले नेता थपलियाद्वारा पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा


नेकपा एमाले चितवनका पूर्वअध्यक्ष तथा एमाले वाग्मती प्रदेश सचिवालय सदस्य जेएन थपलियाले दशौं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गर्नुभएको छ ।  विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय थपलियाले पार्टीलाई वैचारिक र सांगठनिकरुपमा मजबुद बनाउन भन्दै आज केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको हो । वाग्मती प्रदेशका पूर्वमुख्य मन्त्री डोरमणि पौडेलको राजनीतिक सल्लाहकारको रुपमा पनि काम गर्नुभएका थपलिया अनेरास्वबियुका पूर्वसचिवदेखि मिनभबन क्याम्पसको दुई पटक स्ववियु सभापति बन्नुभएको थियो ।   त्यस्तै, जिल्ला विकास समिति चितवनका पूर्वउपसभापति,  मदन भण्डारी फाउण्डेसन चितवनका संस्थापक अध्यक्ष भएर काम गर्नुभएको छ । 


एमाले महाधिवेशन ः नारायणगढ–बुटवल सडकमा ठूला मालबाहक गाडी सञ्चालनमा रोक


नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनलाई मध्यनजर गर्दै नारायणगढ–बुटवल सडक हुँदै गुड्ने ठूला सवारीसाधनमा रोक लगाइएको छ । दाउन्ने सडकको अवस्थाका कारण मालबाहक ट्रक, टिपर र अन्य खाली ट्रकलाई पूर्ण रुपमा रोक लगाइएको हो । 


निर्माणाधीन सडक अहिले खाल्डाखुल्डी धेरै रहेको छ । दाउन्नेमा हुने जामलाई मध्यनजर गर्दै पूर्वी र पश्चिम नवलपरासी जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बुधवार अबेर नवलपुरमा सम्पन्न बैठकले बिहीवार साँझ ६ बजेदेखि शुक्रवार राति १२ बजेसम्मका लागि ठूला सवारीसाधनको आवागमनमा रोक लगाइएको हो ।


दाउन्ने सडकको जामलाई लक्षित गर्दै सवारीसाधनमा रोक लगाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले बताउनुभयो । साँघुरो र उकालो र ओरालो सडक रहेको दाउन्नेमा मालबाहक सवारीसाधनका कारण दिनहुँ जाम हुने गरेको छ । महाधिवेशनमा आउने सवारीसाधनको संख्या बढी हुने र त्यसको सहजताका लागि सवारीसाधनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनुभयो । बुटवल हुँदै काठमाडौं जाने यात्रुबाहक बससमेत पोखरा हुँदै आवतजावत गर्ने गरी व्यवस्था मिलाइएको छ ।


चितवनमा भोली फरक ट्राफिक व्यवस्थापन


नेकपा एमालेको १० औँ राष्ट्रिय महाविधेशन उद्घाटनका दिन भोली ट्राफिक व्यवस्थापन का लागि योजना बनाइएको छ ।  सवारी प्रवेश रोक लगाउनेदेखी पार्किङस्थल र भिभिआईपि सवारी मार्ग तय गरिएको छ । भोली विहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालयबाट पश्चिमतर्फ महाधिवेशन उद्घाटन स्थल नारायणगढसम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्लाका विभिन्न १३ स्थानमा सवारीसाधन पार्किङस्थल निर्माण गरिएको छ ।


नवलपुरभन्दा पश्चिमबाट महाविधेशनमा सहभागी हुन आउने सवारीसाधनलाई गैँडाकोटमा रोकिने छ । गैँडाकोटमा नदी किनार सहितका स्थानलाई पार्किङस्थलको रुपमा प्रयोग गरिएको छ । केन्द्रीय बस टर्मिनल, हाकिमचोक, विरेन्द्र क्याम्पस चोक, नारायणगढ पुल्चोक, पोखरा बसपार्कसम्म सवारी प्रवेशमा रोक लगाईएको छ । 


भिआईपीहरुलाई यएरपोर्टदेखी दुरसञ्चार रोड, भरतपुर अस्पताल, सि एम एस रोड, रमाईलो चोक, विशालचोक प्रहरी कार्यालय पछाडीको रोड, क्षेत्रपुर हुँदै पोखरा बसपार्कको बाटो तय गरिएको छ । कार्यक्रम पछि सोही बाटा हुँदै भरतपुर अस्पतालदेखी जागृति चोक मुनाल चोक मिलनचोक हुँदै राजमार्गमा निकालिने छ । 


झण्झटिलो ट्राफिक व्यवस्थापनका कारण गैँडाकोटका केही विद्यालयहरुले सवारी सञ्चालनमा समस्या देखिएपछि पठनपाठन समेत बन्द गर्नुपर्ने स्थितिको सिर्जना भएको छ ।