हिंसा अन्त्यका लागि ऐक्यबद्धता

२०७८ मङ्सिर ९ बिहीबार १३:५७:०० मा प्रकाशित


हिंसाका विभिन्न रुप छन् । कहिले जानाजान त कहिले अन्जानमा हिंसा भोगिरहेको विभिन्न घटनाक्रमले देखाएका छन् । हिंसाको चपेटामा बढि महिला पर्ने गरेका छन् । विभिन्न अध्ययनहरुका अनुसार विश्वका हरेक तीन जना महिला मध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनैनकुनै प्रकारको हिंसा भोग्ने गरेको तथ्याङ्क उजागर भएका छन् । चाहे उनीहरु निकट आफन्त, घर परिवार, नजिकका साथी नै किन नहुन् वा छिमेकी चिनजानकै व्यक्तिबाट हिंसा भोगेको पाईन्छ । हिंसामा परेका महिला र उनीहरुले दिएका उजुरीका आधारमा त्यो तथ्य पुष्टि हुन्छ ।  
हिंसा न्यूनिकरणका लागि हरेक वर्षको २५ नोभेम्वर देखि १० डिसेम्वरसम्म १६ दिनसम्म लैङ्गिक हिंसा विरुद्ध ऐक्यवद्धता जनाउदै चेतनामूलक कार्यक्रमहरु हुँदै आएका छन् । नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गरिन्छ । र पनि समुदायमा हिंसाका घटनामा कमि आएका छैनन् । यौन हिंसा र घरभित्र हुने हिंसाहरू अझै बाहिर आउन सकेका छैनन् । एक व्यक्तिले अर्को व्यक्तिलाई दिइने यातना, पीडा, दुःख र अपमानलाई हिंसाको रुपमा लिईने गरेको छ । यो शारीरिक, मानसिक, आर्थिक, यौनजन्य वा जुनसुकै रुपमा पनि हुन सक्दछ । त्यसो गर्नु कानुनतः दण्डनीय मानिने छ र दण्डित हुनेछन् । 
यसवर्ष सन् २०२१ को अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको नारा महिला हिंसा अन्त्यका लागि सुन्तला रंगको प्रतिक प्रयोग गर्दै विश्वलाई सुन्तला रंगमा रंगेर महिला हिंसालाई अन्त गर भन्ने बिम्बको रुपमा प्रयोग गरिदैँछ । त्यसो त अझै हिंसामा परेका महिलाहरु खुलेर बाहिर आउन सक्ने अवस्था छैन । उनीहरुका लागि क्षमता अभिवृद्धि गरि शसक्त आवाज उठाउन सक्नेखालका चेतना प्रवाह गर्नु अहिलेको आवश्यकता पनि हो । यसमा तीन तहका सरकार जिम्मेवाररुपमा प्रस्तुत हुनुपर्छ । प्रत्येक महिलाहरुलाई आफ्नो हक अधिकार र कर्तव्य के हो ? कसरी हिंसा जन्य क्रियाकलापबाट जोगिन सकिन्छ ? भन्ने बारे शिक्षालाई प्रभावकारी रुपमा लैजानुपर्छ । त्यसमाथी हिंसा अन्त्यका लागि महिला वा पुरुष सबैले आ–आफ्नो स्थानबाट प्रतिवद्ध भई सकरात्मक भूमिका निर्वाह गर्न जरुरी छ । तपाई हाम्रा कतिपय व्यवहारले हिंसालाई प्रश्रय दिईरहेको हुनसक्छ एक पटक हामी आफै सच्चिन पनि प्रयास गर्ने की ?