आध्यात्मिक चित्रमा रमाउँदै चित्रकार भिम शर्मा

२०७८ कार्तिक ३० मंगलबार १७:३५:०० मा प्रकाशित


गैँडाकोट ५ का चित्रकार भिमप्रसाद शर्माले चित्र बनाउन थाल्नुभएको ५८ बर्ष भयो । ७ बर्षको उमेरदेखी चित्र बनाउन थाल्नुभएका शर्माले चित्र बनाउने कलालाई व्यावसायिक रुपमा भने २०३९ सालबाट गर्नुभएको हो । आजसम्म शर्माले १५ सय बढि चित्र बनाइसक्नु भएको छ । उहाँले बनाउनुभएको ५ वटा चित्र पुस्तिका बजारमा प्रकाशित छन् भने १५ सय बढि पोष्टरहरु बनाएको चित्रकार शर्माले बताउनुभयो । 
शर्मा प्रकृति प्रेमी हुनुहुन्छ । चित्र बनाउँदा आफु प्रकृतिसँग नजिक भएर बनाउने उहाँको भनाई छ । चरा, जनावर, हिमाल, फूल, गौतम बुद्धका चित्र र समाजमा भएका समसामयिक बिषयवस्तुमा पनि उहाँ चित्र कोर्ने गर्नुहुन्छ ।
चित्रकार शर्माले आफुले बनाएका चित्र नेपालमा २ हजारदेखी ८० हजारसम्म बिक्री गर्ने गरेको बताउनुभयो । विदेशमा भने शर्माले आफुले बनाएको चित्रलाई ढेड लाखसम्ममा बिक्री गरेको बताउनुभयो । 
पछिल्लो समय शर्माको आध्यात्मिक चित्र तर्फ बढि लगाव छ । शर्मा भन्नुहुन्छ “केही समय अगाडी म मान्छेको चित्र, विभिन्न चरा, जनावरहरुको चित्र बनाउँथे तर आजभोली म आध्यात्मिक चित्र धेरै बनाएको छु । कुण्डलिनी योग, कुण्डलिनी चक्रहरुको बारेमा चित्र कोरीरहेको छु ।”
चित्रकार भिमप्रसाद शर्मा चित्र बनाउँदा आफुले संसारकै सबै सुख पाएको महसुस गर्ने बताउनुहुन्छ । चित्र बनाउदा परमान्नद मिल्ने उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ “मलाई चित्र बनाउन कुनै समय चाहिँदैन । म जुन सुकै समयमा पनि चित्र बनाउँछु । चित्र कोर्न थालेपछि म भोक प्यास सबै बिर्सन्छु ।” 
उहाँले आफुले बनाएको चित्र बिक्री भएपनि नभए पनि बनाउन भने नछोड्ने बताउनुभयो । मैले बनाएका सबै चत्र अहिले बिक्री नभएपनि मेरो मृत्युपछि अझै राम्रो मूल्यमा बिक्री हुन्छ भने विश्वास आफुलाई रहेको बताउनुभयो ।