अमरापुरी खानेपानीमा निर्वाचनको संभावना बढी, अहिलेसम्म अध्यक्षका तीन जना आंकाक्षी

२०७८ कार्तिक ३० मंगलबार ०८:४०:०० मा प्रकाशित


गैँडाकोट । अमरापुरी खानेपानीको साताँै अधिवेशन अन्तर्गत आज मनोनयन दर्ता रहेको छ । मनोनयन दर्ताका लागि आज १० बजेदेखि २ बजेसम्म समय रहेको छ ।  गत कार्तिक ५ गतेबाट नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढाएको थियो ।  अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १९ औँ बार्षिक साधारण तथा सातौँ अधिवेशनले नयाँ समिति चयनका लागि निर्वाचन समिति तोकेको थियो ।  यसको संयोजकमा तेजेन्द्रप्रसाद सापकोटा,  सदस्यमा मुकुन्दप्रसाद पौडेल र जितबहादुर गुरुङ रहेका छन् । 


समितिले कार्तिक ५ गते यता सहमतिबाट नयाँ समिति चयनका लागि अन्तरपार्टी छलफल गरेपनि अहिलेसम्म सहमति हुनेमा कुनै लक्षण देखिएको छैन । यसबीचमा चाडपर्व पनि रहेका हुँदा अन्तरपार्टी संवादका लागि केही समय लागेको निर्वाचन समितिका संयोजक तेजेन्द्रप्रसाद सापकोटाले बताउनुभयो । 


निर्वाचन समतिका सदस्य मुकुन्दप्रसाद पौडेलका अनुसार मंगलबार आज विहान १० बजेदेखि २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय रहेको छ । दिउँसो ३ बजे उम्मेदवारी नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ४ बजेसम्म उम्मेदवारीमाथि दाबी विरोधको समय तोकिएको छ । उम्मेदवारी फिर्ताका लागि मंसिर २ गते १० बजेदेखि २ बजेसम्मको समय दिइएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंसिर २ गते ३ बजे हुनेछ । मंसिर २ गते नै अपरान्ह ४ बजे चुनाव चिन्ह प्रदान गरिनेछ । मंसिर ३ देखि मंसिर १७ गते राती १२ बजेसम्म चुनाव प्रचारका लागि समय रहेको छ । त्यसपछि मौन अवधिको समय रहनेछ । मंसिर १९ गते विहान ९ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिएको छ । 


अमरापुरी खानेपानीका आंकाक्षी को को छन् त ?


अमपरापुरी खानेपानीको अध्यक्ष पदमा तीन राजनीतिक दलका तर्फबाट उम्मेदवारी आउने स्थानीयले बताएका छन् । स्थानीयका अनुसार अहिलेसम्म खानेपानीको अध्यक्ष पदका लागि तीन जना आंकाक्षी रहेका छन् । आज हुने मनोनयन दर्तामा अझै बढ्न सक्ने अनुमान गरिएको छ । अहिलेसम्म खानेपानीको अध्यक्षका लागि गोपी कंडेल, मनहरी सापकोटा र लालमाया गुरुङले आंकाक्षा देखाएको निर्वाचन समितिका संयोजक तेजेन्द्रप्रसाद सापकोटाले बताउनुभयो । 


गोपी कंडेल अहिलेका वर्तमान अध्यक्ष हुनुहुन्छ । कंडेलले माओवादी केन्द्र, मनहरी सापकोटाले नेपाली काँग्रेस र लालमाया गुरुङले नेकपा एमालेको तर्फबाट प्रतिनिधित्व गरिरहेको स्थानीयको भनाइ छ । अहिलेसम्म अन्तरपार्टी संवाद सहमति नजिक नरहेको निर्वाचन समितिका संयोजक सापकोटाले बताउनुभयो । 


विजय एफएमसंगको कुराकानीमा निर्वाचन समतिका संयोजक सापकोटाले भन्नुभयो “ कार्तिक ५ गते यता तीन चरणमा क्रियाशील राजनीतिक दलहरुबीच छलफल भयो, तर छलफलले सहमतिका लागि कुनै निष्कर्ष निकाल्न सकेको छैन । सहमतिबाट एकढिक्का हुने संभावना कम छ”  निर्वाचन समितिका संयोजक सापकोटाका अनुसार अहिलेसम्मको अवस्था हेर्दा निर्वाचन हुने लक्षण देखिएको छ । अझै सहमतिका लागि समय रहेकाले केही आशावादी समेत रहेको सापकोटाले बताउनुभयो ।  


संस्थागत विकासमा खानेपानी अघि बढ्दै 


अमरापुरी खानेपानीले धारा जडान गर्दा सबै उपभोक्तालाई एउटा दररेट कायम गर्ने १८ औँ वार्षिक साधारण सभाले निर्णय समेत गरेको छ  ।

आजसम्म नयाँ र पुराना उपभोक्तालाई फरकफरक मुल्यमा धारा जडान गदैआएको खानेपानी संस्थाले अब भने सबै उपभोक्तालाई १५ हजारमा नयाँ धारा जडान गर्ने निती बनाएको छ ।

 अमरापुरी खानेपानी संस्थामा हाल ओभरहेड ४ सय ५० घनमिटर, ७ सय घनमिटर, र ३ सय घनमिटरको पानी स्टोरेज ट्या∙ी निमाणाधिन अवस्थामा रहेको छ । 

संस्थाले अहिले गैँडाकोट १४, १५, १६ र १७ मा खानेपानी वितरण गर्दै आएको छ ।

 

संस्थामा आज आर्थिक कारोबार बन्द हुने । 


 


संस्थामा आज मनोनयन दर्ताको कार्यक्रम रहेको हुँदा आर्थिक कारोबार बन्द रहेको संस्थाले सूचना प्रकाशीत गरि उपभोक्तालाई सूचित गरेको छ ।