नयाँ शिक्षक भर्नाको कार्यतालिका सार्वजनिक, विज्ञापन मंसिरमा खुल्ने

२०७८ कार्तिक २९ सोमबार ११:५९:०० मा प्रकाशित


  
काठमाडौं । शिक्षक सेवा आयोगले चालु आर्थिक वर्ष २०७८र०७९ को पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार खुलातर्फको विज्ञापन आगामी मंसिर महीनामा खुल्नेछ । खुला विज्ञापनको सामान्य परीक्षा आगामी फागुनमा, विषयगत परीक्षा आगामी जेठमा हुनेछ । सामान्य परीक्षाको नतिजा २०७९ वैशाखमा र विषयगत परीक्षाको नतिजा २०७९ साउनमा प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।

त्यसपछि भदौमा अन्तर्वार्ता गरी असोजमा शिक्षक सिफारिस गर्ने आयोगले बताएको छ । प्राथमिक तहका शिक्षकको सिफारिस भने कात्तिकमा हुनेछ । यस अनुसार आगामी शैक्षिक वर्षको मध्यमा मात्र नयाँ शिक्षकहरु कक्षाकोठामा पुग्नेछन् । आयोगका प्रवक्ता सुर्दशन मरहठ्ठा परीक्षार्थी बढी हुन सक्ने भएकाले त्यही अनुसार कार्यतालिका तयार गरेको बताउँछन् । 

सात लाख जना भन्दा बढीले शिक्षण अध्यापन अनुमति पत्र लिएको आयोगले जनाएको छ । आयोगका अनुसार हालसम्म प्राथमिक तहमा दुई लाख दुई हजार ७१२ जनाले, निम्न माध्यामिक तहमा तीन लाख सत्तरी हजार १२ जनाले र माध्यामिक तहमा एक लाख ४४ हजार तीन सय ८१ जना गरी सात लाख १७ हजार एक सय पाँच जनाले लाइसेन्स लिएका छन् । आयोगले खुलातर्फ माध्यामिक तहमा एक हजार ४२ दरबन्दी, निम्न माध्यामिक तहमा एक हजार ९१३ दरबन्दी र प्राथमिक तहमा नौ हजार ६०१ रिक्त दरबन्दीमा विज्ञापन खुलाउने तयारी गरेको छ ।

बढुवाको विज्ञापन पनि मंसिरमा
आन्तरिक प्रतियोगितात्मक बढुवाको विज्ञापन पनि आयोगले मङ्सिरमा नै खोल्ने तयारी गरेको छ । शिक्षक सेवा आयोग नियमावली संशोधन नहुँदा विज्ञापन रोकिएको थियो । मंसिरभित्रै नियमावली संशोधन गरी प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीमा विज्ञापन खुलाउने तयारी रहेको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता मरहठ्ठाले मंसिरको तेस्रो हप्ताभित्र नियमावली संशोधन हुने र त्यसपछि विज्ञापन खोल्ने तयारी गरेको बताए । उनले भने ‘मंसिर तेस्रो हप्ताभित्र नियमावली संशोधन हुने र त्यसपछि विज्ञापन खोल्ने तयारी हो ।’ नियमावली संशोधन गर्न बाँकी भएकोले गते नतोकेर महिना मात्रै उल्लेख गरी कार्यतालिका सार्वजनिक गरेको बताए ।

करार सूची मंसिरमा सार्वजनिक गर्ने
आयोगले करार सूची आगामी २०७९ सालको मङ्सिरमा सार्वजनिक गर्ने भएको छ । वार्षिक कार्यतालिका अनुसार अध्यापन अनुमतिपत्रको विज्ञापन आगामी चैतमा सञ्चालन गरी २०७९ असारमा परीक्षा सञ्चालन गर्ने र असोजमा नतिजा सार्वजनिक गर्ने तयारी छ । अध्यापन अनुमतिपत्र वितरण आगामी २०७९ साल मङ्सिरबाट हुने जनाइएको छ ।