आफु र अरुसँग जोडिने कला सम्बन्धि तालिम

२०७८ कार्तिक २९ सोमबार ११:३१:०० मा प्रकाशित


गैँडाकोट ।
प्रो पब्लीकले गैँडाकोटको विजय सामूदायिक शिक्षा सदनका कक्षा ९ का विद्यार्थीलाई आफु र अरुसँग जोडिने कला सम्बन्धि तालिम दिएको छ । विजय विकास स्रोत केन्द्रको हलमा ६ दिनसम्म  विद्यार्थीलाई आफु र अरुसँग जोडिने कला सम्बन्धि तालिम दिइएको हो । 
बिशेषत भावनात्मक बृद्धिमता र मानसिक सुःस्वास्थ्यको अहिंसात्मक सञ्चार नेतृत्वको भूमिकाका बिषयमा तालिम दिईएको प्रो पब्लीकका अहिंसात्मक सञ्चार नेतृत्व तालिम प्रशिक्षक श्रीराम तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँले यस तालिमले जिवनलाई सहज बनाउने, सञ्चार कसरी गर्ने, नेतृत्व कसरी गर्ने, आफुले आफुसँगै आफ्नो परिवार र समाजको ख्याल कसरी गर्ने भन्ने कुरा विद्यार्थीले सिकेको बताउनुभयो । तालिम कात्र्तिक २३ गतेदेखि २८ गतेसम्म भएको थियो । पहिले जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधिलाई तालिम दिइएपनि अहिलेदेखि विद्यालयमा र विद्यार्थीलाई तालिम दिन शुरु गरिएको बताउनुभयो । 
तालिमको समापन आज गरिएको थियो समापन कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले विद्यार्थीले नयाँ सिकाइ सिकेको बताउदैँ यस्ता सिकाईले आत्मनिर्भर बनाउन र आत्मबल प्रदान गर्न मद्त गर्ने बताउनुभयो । उहाँले सिप र क्षमताको प्रयोग गर्दै अगाडी बढनुपर्ने पनि बताउनुभयो। नगरप्रमुख पौडेलले हरेकको क्षमता र सिप फरक हुनाले आफु र आफ्नो क्षमतालाई चिनेर अगाडी बढन सुझाव समेत दिनुभएको छ । 
कार्यक्रममा विजय सामूदायिक शिक्षा सदनका विद्यार्थीहरुले आफुले सिकेका कुरा प्रस्तुत गरेका थिए भने कार्यक्रममा विजय सामूदायिक शिक्षा सहकारी संस्था लिमिटेडका अध्यक्ष खेमराज सापकोटा, कोषाध्यक्ष लक्ष्मण कार्की, पूर्व अध्यक्ष टिकाराम कंडेल, विद्यालयका प्रधानाध्यापक रामचन्द्र न्यौपाने, सहायक प्रधानाध्यापक रेखा श्रेष्ठ,  लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।