आज हरिबोधिनी एकादशी व्रत

२०७८ कार्तिक २९ सोमबार ०८:१७:०० मा प्रकाशित


गैँडाकोट । आज हरिबोधिनी एकादशी । एकादशीहरुमा सबैभन्दा ठूलो एकादशीका रुपमा लिइने यस दिनलाई ठूली एकादशी भन्ने पनि गरिन्छ । यसको महिमाका कारण पनि यसलाई ठूलो एकादशी भनिएको हो । जनविश्वास तथा धार्मिक परम्पराअनुसार हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका विष्णु भगवान आज उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ । 
आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ । वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्त्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, साँस्कृतिक र वैज्ञानिक रुपमा पनि निकै महत्त्व रहेको छ । त्यसैले हिन्दु धर्मालम्बीहरुले आआफ्नो घरमा पनि तुलसीको मठ बनाउने र त्यसलाई पूजा गर्ने गर्छन् । हिन्दू धर्मालम्बीहरुले आँगनको छेउमा बनाएको तुलसीको मठलाई पवित्र स्थान मानिने चलन छ । 
हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने एकादशीमा रोपिएको तुलसीको बिरुवा आजको दिनसम्म निकै हुर्किएको हुन्छ । अषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीको बिरुवालाई आजको दिन पिपलसँग विवाह गरिदिने प्रचलन पनि रहेको छ ।
यस अवसरमा नवलपुरका शिख्रौली, केउरेनी पिठौली लगायतका स्थानमा मेलाको आयोजना गरिएको छ । 
हरिबोधनी एकादशीको अवसरमा देवचुली नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिजो बसेको ८२ औं कार्यपालिका बैठकले नगर भित्रको सम्पूर्ण वित्तीय संस्था, सरकारी कार्यालय तथा विद्यालयहरुमा विदा दिने निर्णय गरेको हो । अन्य पालिकाहरुले स्थानीय विदा दिएका छन् ।