विजय खबर पत्रिका सातौँ वर्षमा प्रवेश

२०७८ कार्तिक २४ बुधबार १०:४०:०० मा प्रकाशित


गैँडाकोट । प्रदेश स्तरको ‘ख’ वर्गमा सूचीकृत विजय खबर पत्रिका सातौँ वर्षमा प्रवेश गरेको छ । वि.सं. २०७२ साल कार्तिक २४ गतेबाट विजय खबर पत्रिका साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको हो । नेपालको संविधान २०७२ जारी भई नयाँ नेपालका रुपमा प्रवेश गरेको सन्दर्भमा साथै भारतीय नाकाबन्दीले थलिएको तत्कालीन समयमा विजय खबरले विजयको सन्देश लिएर आएको थियो । 


विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित विजय खबर पत्रिका गण्डकी प्रदेशभर वितरण हुँदै आएको छ । विशेष गरी नवलपरासी (बर्दघाट सुस्तापूर्व), चितवन र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) लाई प्राथमिकतामा राखेको छ । यस पत्रिकाका ब्लग र फेसबुकमार्फत अन्य स्थानका पाठकले समेत अध्ययन गर्दै आएका छन् । 


‘सत्य तथ्य सूचनाको सञ्चार, जनसशक्तीकरणको मूल आधार’ भन्ने भावलाई आत्मसात् गर्दै विजय विकास स्रोत केन्द्र र विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अगुवाइमा २०५७ सालमा स्थापित विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाले सामुदायिक रेडियो विजय एफएम र विजय खबर पत्रिका सञ्चालन गरेको हो । स्थापनाकालदेखि नै सञ्चारका यी दुवै माध्यमबाट समाजमा सुशासन, विकास, सकारात्मक सोच, सकारात्मक सोचका लागि जागरण र समाजमा सूचनाको पहुँच स्थापित गर्नका लागि निरन्तर सूचना प्रवाह गर्दै आइरहेका छन् । 


विजय खबर पत्रिका सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष भूमिराज चापागाईले पाठकको चाहना र समुदायको आवश्यकताअनुरुप नै पत्रिका अघि बढ्ने बताउनुभएको छ । कोरोनाको महामारीमा पनि जनतालाई सुसूचित गराउन पत्रिकाले भूमिका खेलिरहेको बताउँदै थप सशक्त र आवाजविहीनहरुको आवाज बन्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ  । विजय खबर पत्रिका साताँै वर्ष प्रवेश गरेको अवसरमा अध्यक्ष चापागार्इंले सम्पूर्ण पाठक, सञ्चालक, सेयर सदस्य, कर्मचारी, विज्ञापनदाता तथा शुभचिन्तकहरुमा कृतज्ञतासहित शुभकामना व्यक्त गर्नुभएको छ । 


समुदायमा अब्बलरुपमा प्रस्तुत हुँदै आएको पत्रिकाले पाठकको चाहना र समुदायको आवश्यकतालाई मध्यनजर गरी समाचार र लेखरचनाहरु प्रकाशन गर्दै आइरहेको छ । विकासका लागि सञ्चार अभियानकै रुपमा यसले कार्यक्रम सञ्चालन गरी समुदायका समस्या र सम्भावनालाई उजागरसमेत गर्दै आएको छ ।