गैंडाकोटमा बालविकास तहका शिक्षकका लागि क्षमता विकास तालिम
गैंडाकोट। गैंडाकोट नगरपालिका सामुदायिक विद्यालयस्तरीय परीक्षा समितिको आयोजना तथा सफल पब्लिकेसनको प्रायोजनमा नगरभित्रका बालविकास तहका शिक्षकहरूका लागि एकदिने क्षमता विकास तालिम सम्पन्न भएको छ।
श्री रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालय, पितौजीको सभाहलमा आइतबार भएको तालिममा गैंडाकोट नगरपालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकास शिक्षक (ईसीडी) तहमा अध्यापनरत ३० जनाभन्दा बढी शिक्षकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा गैंडाकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खेमप्रसाद आचार्यले बालमनोविज्ञान बुझेर सोहीअनुसार बालबालिकालाई अध्ययन–अध्यापन गराउन आवश्यक रहेको बताउनुभयो। उहाँले बालबालिकाको रुचि, क्षमता र मनोभावनालाई बुझेर शिक्षण सिकाइका गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। साथै प्रारम्भिक बालविकास सहजकर्ताका लागि गर्न सक्ने सहजिकरण आफुले गर्दै आएको बताउनुभयो ।

तालिममा प्रशिक्षक यज्ञराज अवस्थीले बालबालिकाको मनोभावना बुझेर उनीहरूको उमेर, रुचि र विकासको अवस्थाअनुसार शिक्षण सिकाइका क्रियाकलाप सञ्चालन गर्ने विषयमा प्रशिक्षण दिनुभएको थियो। उहाँले बालबालिकाको शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक तथा नैतिक विकासमा सहयोग पुग्ने गरी अध्ययन–अध्यापन गराउनुपर्नेमा जोड दिनुभयो।
बालबालिकालाई खेल्दै, सिक्दै र रमाउँदै पढ्ने वातावरण निर्माण गर्नुपर्ने उल्लेख गर्दै उहाँले सिकाइलाई प्रभावकारी बनाउन विभिन्न व्यावहारिक तथा क्रियाकलापमा आधारित विधि प्रयोग गर्न शिक्षकहरूलाई आग्रह गर्नुभयो। विशेषगरी लर्निङ बाइ डुइङ’ अर्थात् गरेर सिक्ने विधिबाट बालबालिकालाई सिकाउँदा उनीहरूको सिकाइ प्रभावकारी हुने उहाँको भनाइ थियो।
कार्यक्रमका अध्यक्ष तथा गैंडाकोट नगरपालिका सामुदायिक विद्यालयस्तरीय परीक्षा समितिका संयोजक नवराज काफ्लेले विद्यार्थीहरूको हितका लागि सम्पूर्ण शिक्षकहरूबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले बालबालिकाको प्रारम्भिक तथा पूर्वप्राथमिक तहदेखि नै सिकाइको जग बलियो बनाउन सके भविष्यमा उनीहरूले विभिन्न क्षेत्रमा क्षमता प्रदर्शन गर्न सक्ने बताउनुभयो।
बालबालिकाको सर्वाङ्गीण विकासका लागि प्रारम्भिक तहमा अध्यापन गराउने शिक्षकहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले यस तहमा कार्यरत शिक्षकहरूले अझ प्रभावकारी रूपमा शिक्षण सिकाइमा सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा जनक नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक बुद्धिसागर पण्डित, कालिका नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक होमनाथ शर्मा तथा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक पदमबहादुर खड्कालगायतले बालबालिकाको चौतर्फी विकासका लागि विद्यालयमा बालमैत्री वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो। उहाँहरूले पूर्वप्राथमिक तथा प्रारम्भिक बालविकास तहदेखि नै बालबालिकाको आवश्यकता र रुचिअनुसार शिक्षण सिकाइका गतिविधि सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो।
त्यसैगरी, सफल पब्लिकेसनका व्यवस्थापक नारायण पोखरेल पूर्णले शिक्षकहरूसँग अन्तरक्रिया गर्दै बालबालिकालाई प्रभावकारी रूपमा कसरी सिकाउन सकिन्छ भन्ने विषयमा छलफल तथा सहकार्यलाई पब्लिकेसनले प्राथमिकता दिँदै आएको बताउनुभयो। उहाँले शिक्षकहरूलाई सहज हुने गरी आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको उल्लेख गर्दै शिक्षण सामग्री तथा प्रक्रियामा देखिएका त्रुटिहरू सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
गैंडाकोट नगरपालिका सामुदायिक विद्यालयस्तरीय परीक्षा समितिका सचिव विष्णुप्रसाद रिजालले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, परीक्षा समितिका अर्थसचिव टक नारायण राना लगायतको सहभागिता रहेको थियो।
तालिमले प्रारम्भिक बालविकास तहमा अध्यापनरत शिक्षकहरूको शिक्षण सीप अभिवृद्धि गर्नुका साथै बालबालिकाको मनोविज्ञानअनुसार बालमैत्री, व्यावहारिक र प्रभावकारी शिक्षण सिकाइ वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।