नवदुर्गा टोल विकास संस्थाद्धारा मौलाकालिका मन्दिर जाने सिढि मार्ग सरसफाइ

२०८३ कार्तिक १६ आइतबार २०:०५:०० मा प्रकाशित

धार्मिक तथा पर्यटकीय क्षेत्रको स्वच्छता, सुन्दरता र संरक्षण गर्ने उद्देश्यले श्री नवदुर्गा टोल विकास संस्थाको आयोजनामा मौलाकालिका मन्दिर जाने सिढि मार्ग सरसफाइ कार्यक्रम गरेको छ ।
आइतबार बिहान ६ बजेदेखि सुरु भएको उक्त कार्यक्रममा स्थानीयवासी तथा टोल विकास संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
मौलाकालिका मन्दिर जाने पैदलमार्ग, बाटो आसपासका क्षेत्र , गणेस मन्दिर तथा मौलाकालिका मन्दिर परिसरमा सरसफाइ गरिएको टोल विकास सस्थाका अध्यक्ष टेकबहादुर रेश्मीमगरले जानकारी दिनुभयो।

धार्मिक आस्थाको महत्वपूर्ण केन्द्रका रूपमा रहेको मौलाकालिका मन्दिरमा दैनिक रूपमा दर्शन तथा भ्रमणका लागि आउने भक्तजन र पर्यटकलाई स्वच्छ, सफा र सुन्दर वातावरण प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।
धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण र प्रवद्र्धन गर्नु सबैको साझा दायित्व भएको भन्दै स्थानीयस्तरबाट सञ्चालन गरिने यस्ता सरसफाइ अभियानले वातावरणीय स्वच्छता कायम गर्नुका साथै सामाजिक एकता, सहकार्य र सामुदायिक जिम्मेवारीको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।