गुणस्तरीय शिक्षा, उत्कृष्ट नतिजा र व्यावहारिक सिकाइमा अब्बल बन्दै विजय सामुदायिक शिक्षा सदन

२०८३ श्रावण १३ बुधबार १४:२६:०० मा प्रकाशित

गैँडाकोट । नवलपुरको गैँडाकोट ५ मा रहेको विजय सामुदायिक शिक्षा सदन (vsss) गुणस्तरीय शिक्षा, अनुशासित शैक्षिक वातावरण, उत्कृष्ट शैक्षिक उपलब्धि र विद्यार्थीको चौतर्फी विकासलाई केन्द्रमा राख्दै जिल्लाकै अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै गएको छ।
“हाम्रो बालबालिका, हाम्रो भविष्य“ भन्ने मूल नारा सहित वि.सं. २०५८ साल फागुन ८ गते स्थापना भएको विद्यालयले स्थापना कालदेखि नै व्यवहारमुखी, प्रविधिमैत्री र गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै आफ्नो शैक्षिक यात्रा निरन्तर अघि बढाइरहेको छ।
 विद्यालयले प्रत्येक वर्ष कक्षा ५, कक्षा ८ ,एसईई तथा कक्षा ११ र १२ सहित सबै कक्षाहरुमा उत्कृष्ट नतिजा हासिल गर्दै अभिभावक र समुदायको विश्वाससमेत जित्दै आएको बिद्यालयका प्रधानाध्यापक बिरभद्र सापकोटाले बताउनु भयो । भौतिक पूर्वाधारका हिसाबले पनि विद्यालय सुविधा सम्पन्न रहेको छ। आधुनिक पुस्तकालय, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, सूचना प्रविधिमैत्री कक्षा, सुरक्षित यातायात सेवा र नियमित अभिभावक–शिक्षक अन्तरक्रियाले विद्यालयको शैक्षिक वातावरणलाई अझ प्रभावकारी बनाएको प्रधानाध्यापक सापकोटाले बताउनु भयो। 
विद्यालयमा दक्ष, अनुभवी र विषयगत रूपमा सक्षम शिक्षक–शिक्षिकामार्फत आधुनिक शिक्षण प्रणाली अपनाएर पठनपाठन गराइँदै आएको छ।
 विद्यालयले अनुशासन, नैतिक शिक्षा, सदाचार र सामाजिक उत्तरदायित्वलाई शिक्षाको अभिन्न अंग बनाएको सहायक प्रधानाध्यापक बिकल सापकोटाले बताउनु भयो । खेलकुद, सांस्कृतिक कार्यक्रम, वक्तृत्वकला, हाजिरीजवाफ, विज्ञान प्रदर्शनी, व्यक्तित्व विकास, नेतृत्व विकास तथा सिर्जनात्मक कार्यक्रममार्फत विद्यार्थीको बहुआयामिक क्षमता विकासमा विशेष ध्यान दिइँदै आएको सहायक प्रधानाध्यापक सापकोटाले बताउनु भयो । 

विद्यालयले विद्यार्थीलाई केवल किताबी ज्ञानमा सीमित नराखी जीवनोपयोगी, सीपमूलक र व्यावहारिक शिक्षामा विशेष जोड दिएको छ। विज्ञान संकायका विद्यार्थीका लागि प्रि–मेडिकल तथा प्रि–इन्जिनियरिङ कक्षाको व्यवस्था गरिएको छ भने व्यवस्थापन संकायका विद्यार्थीलाई विभिन्न उद्योग, व्यवसाय तथा व्यापारिक संस्थामा अध्ययन भ्रमण र व्यावहारिक प्रशिक्षणको अवसर प्रदान गरिन्छ। यसले विद्यार्थीलाई उच्च शिक्षा र भविष्यको पेशागत जीवनका लागि सक्षम बनाउने विश्वास विद्यालयले लिएको छ।
विद्यार्थीलाई पाठ्यपुस्तकमा सीमित नराखी ह्यान्ड्स–अन लर्निङ, अडियो–भिजुअल कक्षा, दोहोरो मूल्याङ्कन प्रणाली तथा निरन्तर सिकाइ मूल्याङ्कनमार्फत व्यवहारिक ज्ञान र सीप विकासमा जोड दिइएको विद्यालयले जनाएको छ।
विद्यार्थीमा सामाजिक भावना, सहयोग, नेतृत्व र आर्थिक अनुशासनको विकास गर्न विद्यालयमा बचत समूह, जुनियर रेडक्रस सर्कल, स्काउट, बाल क्लब लगायत विभिन्न क्लब सञ्चालनमा रहेका छन्। यस्ता गतिविधिले विद्यार्थीलाई सहकार्य, बचतको महत्व, विपद् व्यवस्थापन, सामाजिक सेवा र नेतृत्व विकासका व्यावहारिक अनुभव प्रदान गरिरहेका छन्।
विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म करिब १३०० बिद्यार्थी अध्ययनरत रहेका छन। 
विद्यालय प्रशासनका अनुसार आगामी दिनमा पनि प्रविधिमैत्री शिक्षण प्रणाली, अनुसन्धानमुखी सिकाइ, नवप्रवर्तन, अन्तर्राष्ट्रिय स्तरका शैक्षिक अभ्यास तथा विद्यार्थीमैत्री कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै गुणस्तरीय शिक्षाको क्षेत्रमा नयाँ उचाइ हासिल गर्ने लक्ष्यका साथ विद्यालय अघि बढिरहेको छ । 

 

ताजा खबर