गण्डकीमा पाँच अग्रज पत्रकार सम्मानित, नवलपुरका प्रेमचन्द्रलाई प्रदेशस्तरीय सम्मान

२०८३ असार २० शनिबार २१:१४:०० मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा पत्रकारितामार्फत लामो समयदेखि पु¥याएको योगदानको कदरस्वरूप नवलपुरका अग्रज पत्रकार प्रेमचन्द्र रौनियार प्रदेशस्तरीय सम्मानबाट सम्मानित हुनुभएको छ ।

गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयद्वारा पोखरामा आयोजित “गण्डकी मिडिया समिट–२०८३ तथा अग्रज पत्रकार सम्मान समारोहमा” रौनियारसहित प्रदेशका पाँच जना अग्रज पत्रकारलाई सम्मान गरिएको हो ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मानित पत्रकारहरूलाई जनही ५० हजार रुपैयाँ नगद, ताम्रपत्र र दोसल्ला प्रदान गर्नुभएको थियो । 

सम्मानित हुनेमा पोखराका स्व. केशवराज पराजुली र तिलकमान गुभाजू, नवलपुरका प्रेमचन्द्र रौनियार, तनहुँका विश्वबन्धु भण्डारी तथा पर्वतकी सरस्वती शर्मा जिज्ञासु रहेका छन् ।


नवलपुरका पत्रकारिताको परिचय बनेका रौनियार

२०१४ सालमा जन्मिएका प्रेमचन्द्र रौनियार तीन दशकभन्दा बढी समयदेखि नवलपुरमै रहेर पत्रकारिता गर्दै आएका अग्रज पत्रकार हुनुहुन्छ । जिल्लामा रहेर राष्ट्रियस्तरका सञ्चारमाध्यममा निरन्तर सक्रिय रहँदै आउनुभएका उहाँ हाल एभिन्यूज टेलिभिजनका संवाददाता हुनुहुन्छ ।  पत्रकारितामा उनको निरन्तरता, निष्पक्षता र योगदानको कदर गर्दै गण्डकी प्रदेशले सम्मान गरेको हो ।

कार्यक्रममा सम्मानित व्यक्तित्वहरूको जीवन, संघर्ष र योगदान समेटिएको “हाम्रो समयको पत्रकारिता” पुस्तक पनि सार्वजनिक गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार भएकाले सत्य र तथ्यमा आधारित पत्रकारितालाई सरकारले सदैव सम्मान गर्ने बताउनुभएको छ ।  सामाजिक सञ्जाल र मूलधारका सञ्चारमाध्यमबीचको विश्वसनीयताको भिन्नता नागरिकलाई स्पष्ट रूपमा बुझाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।  

प्रेस रजिष्ट्रार बिमला भण्डारीले अग्रज पत्रकारहरूको अनुभव, संघर्ष र योगदानलाई पुस्तान्तरण गर्ने उद्देश्यले सम्मान कार्यक्रमको थालनी गरिएको बताउनुभएको छ ।  उहाँका अनुसार पत्रकारिताको इतिहासलाई पुस्तक र डिजिटल अभिलेखमार्फत संरक्षण गर्ने अभियान पनि सुरु गरिएको  छ ।

यस सम्मानसँगै नवलपुरको पत्रकारिता क्षेत्रले प्रदेशस्तरमा थप गौरव प्राप्त गरेको छ भने लामो समयदेखि जिल्लाबाट निरन्तर पत्रकारिता गर्दै आएका प्रेमचन्द्र रौनियारको योगदान पुनः एकपटक औपचारिक रूपमा सम्मानित भएको छ ।