मौलाकाली सिकाई केन्द्रको अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा कन्टिनेन्टल इङ्लिस स्कुल प्रथम

२०८३ असार ६ शनिबार १७:०२:०० मा प्रकाशित

गैँडाकोट । मौलाकाली सिकाई केन्द्रको आयोजनामा आधारभूत तह अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ। शनिबार जनक माविको आदर्श ब्लकमा भएको कार्यक्रममा गैंडाकोटका १३ वटा विद्यालयले सहभागिता जनाएका थिए। सहभागी विद्यार्थीहरूले नेपाली लोकसंस्कृति झल्कने विविध आकर्षक लोकनृत्य प्रस्तुत गरेका थिए।

प्रतियोगितामा कन्टिनेन्टल इङ्लिस स्कुलले प्रथम स्थान हासिल गरेको छ ।

त्यस्तै बाल विकास इङ्लिस स्कुलले द्वितीय स्थान हासिल गरेको छ।

 स्मल हट एकेडेमीले तृतीय स्थान हासिल गरेको छ।

त्यस्तै  सरस्वती बाल शिक्षा निकेतनले सान्त्वना स्थान हासिल गरेको हो।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमश १० हजार ७ हजार ५ हजार र ३ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन्। 

कार्यक्रममा मौलाकाली सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष कमलप्रसाद पराजुलीले केन्द्रले विभिन्न सामाजिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले विद्यार्थीहरूको लुकेको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। केन्द्रले प्रौढ शिक्षा, सीपमूलक तालिम, महिला, विपन्न, पीडित तथा अल्पसंख्यक समुदायलाई लक्षित गरी व्यक्तित्व विकास र आर्थिक सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गर्दै आएको  अध्यक्ष पराजुलीले जानकारी दिनुभयो।

त्यसैगरी गैँडाकोट नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खेमप्रसाद आचार्यले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा कुशलतापूर्वक प्रस्तुत गर्दै भविष्यमा राष्ट्रियस्तरसम्म पुग्न आग्रह गर्नुभयो। शाखा प्रमुख आचार्यले नगरपालिकाभित्रका सबै विद्यालयलाई बालमैत्री विद्यालय बनाउने लक्ष्यका साथ काम भइरहेको पनि बताउनुभयो।

कार्यक्रममा नगर शिक्षा शाखाका अधिकृत रामप्रसाद अधिकारी, जनक नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक बुद्धिसागर पण्डित, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द घिमिरे, कालिका नमुना मा.वि का शिक्षक गोविन्द उपाध्याय लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतियोगिताको निर्णायकका रूपमा नृत्य निर्देशक पुष्प श्रेष्ठ र बसन्त लामा रहनुभएको छ। कार्यक्रममा गैँडाकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको सहयोग रहेको थियो।

मौलाकाली सिकाई केन्द्रका अध्यक्ष कमलप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रकी सदस्य सचिव याममाया पुलामी मगरले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रतियोगिताको सहजीकरण मौलाकाली सिकाई केन्द्रका कोषाध्यक्ष हिमालदेव पंगेनीले गर्नुभएको थियो । 

विद्यार्थीहरूमा नेपाली लोकसंस्कृतिप्रति सम्मान र संरक्षणको भावना अभिवृद्धि गर्दै उनीहरूको लुकेको प्रतिभा प्रस्फुटन तथा सिर्जनात्मक क्षमता विकास गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। यस्ता कार्यक्रमले नेपाली लोककला, संस्कृति तथा मौलिक पहिचानको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
 

ताजा खबर