गैंडाकोट जेसीजको आयोजनामा HIV/AIDS, लागूपदार्थ दुर्व्यसन तथा साइबर सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

२०८३ असार ५ शुक्रबार ०६:२५:०० मा प्रकाशित

गैंडाकोट जेसीजको आयोजना तथा गैंडाकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा “HIV/AIDS तथा लागूपदार्थ दुर्व्यसन सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको छ।
गैंडाकोट रिसोर्टमा आयोजित कार्यक्रममा गैंडाकोट नगरपालिका अन्तर्गत वडा नं. १ देखि ९ सम्मका कक्षा ९ देखि १२ सम्म अध्ययनरत सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी तथा उनीहरूका अभिभावकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा करिब ६० जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ।


कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खेम प्रसाद आचार्यले किशोर–किशोरीहरूलाई सही जानकारी, सचेतना र सकारात्मक मार्गदर्शन प्रदान गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले युवापुस्तालाई लागूपदार्थ दुर्व्यसन, HIV/AIDS तथा साइबर अपराधका जोखिमबाट जोगाउन विद्यालय, अभिभावक र समुदायबीच समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।


कार्यक्रममा गैंडाकोट जेसीजका संस्थापक अध्यक्ष बद्री सापकोटा, पूर्व अध्यक्ष तथा बोर्ड अफ ट्रष्ट्रीजका अध्यक्ष परमेश आचार्य, निवर्तमान अध्यक्ष हरी पौडेल तथा शिक्षा अधिकृत रामप्रसाद अधिकारी अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
अभिमुखीकरण कार्यक्रममा गैंडाकोट जेसीजका पूर्व अध्यक्ष कृष्णहरि सापकोटाले HIV/AIDS तथा लागूपदार्थ दुर्व्यसनका कारण, प्रभाव र रोकथामका उपायबारे प्रशिक्षण दिनुभएको थियो।

 

 

त्यसैगरी इलाका प्रहरी कार्यालयका सहायक निरीक्षक (असई) प्रदीप लम्सालले साइबर बुलिङ, सामाजिक सञ्जालको सुरक्षित प्रयोग तथा साइबर अपराधबाट बच्ने उपायबारे जानकारी गराउनुभएको थियो।

 

 

नेपाल जेसीजका पुर्व कार्यकारिणी उपाध्यक्ष तथा प्रशिक्षक शिव भुसालले व्यक्तित्व विकास र नेतृत्व विकास सम्बन्धी सहजीकरण गर्दै युवाहरूलाई सकारात्मक सोच, आत्मविश्वास र नेतृत्व क्षमताको विकासतर्फ प्रेरित गर्नुभएको थियो।


गैंडाकोट जेसीजका अध्यक्ष ईश्वर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव कमल तिवारीले गर्नुभएको थियो भने कार्यक्रम संयोजन डा. सुबास सापकोटाले गर्नुभएको थियो।


युवाहरूमा स्वास्थ्य सचेतना, सामाजिक उत्तरदायित्व, साइबर सुरक्षा तथा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम सहभागीहरूका लागि ज्ञानवर्द्धक र प्रभावकारी बनेको आयोजकले जनाएको छ। 


त्यसैगरि आज भने गैँडाकोट नगरपालिका अन्तर्गत वडा नं. १० देखि १८ सम्मका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रम आयोजना गर्न लागिएको गैँडाकोट जेसीजले जनाएको छ। आज शुक्रबार बिहान ११ बजे गैँडाकोट–१० भैँसाखोरीस्थित श्री रत्नराज्य माध्यमिक विद्यालयमा सञ्चालन हुने कार्यक्रम संयोजक एवं गैँडाकोट जेसीज वर्ष २०२६ का उपाध्यक्ष चुन्न पौड्यालले जानकारी दिनुभयो ।