दोस्रो गैंडाकोट नगरस्तरीय अन्तरविद्यालय छात्र,छात्रा बक्सिङ प्रतियोगिता सुरु
गैँडाकोट। नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैंडाकोटमा दोस्रो गैंडाकोट नगरस्तरीय अन्तरविद्यालय छात्र,छात्रा बक्सिङ प्रतियोगिता शुरु भएको छ । बुधवार गैंडाकोट खेलकुद समिति बहुउद्देश्यीय कबर्ड हलमा विद्यालय उमेर समूहका विद्यार्थीहरूको खेल प्रतिभालाई उजागर गर्ने र स्थानीय स्तरमा बक्सिङ खेललाई अगाडि बढाउन प्रतियोगिता आयोजना गरिएको हो।
गैँडाकोट नगर बक्सिङ संघको आयोजना तथा गैँडाकोट नगर खेलकुद विकास समितिको समन्वयमा सुरु भएको प्रतियोगितामा नगरभित्रका संस्थागत (निजी) र सामुदायिक (सरकारी) गरी कुल १० वटा विद्यालय बाट १३२ जनाले भाग लिएका छन्। दुई दिनसम्म चल्ने प्रतियोगितामा २६ केजीदेखि ७० केजी सम्मका विभिन्न तौल समूहका छात्र तथा छात्राहरूलाई खेलमा सहभागि गराईएको छ । । प्रतियोगिताका विजेताले नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गैडाकोट नगर बक्सिङ सँघका अध्यक्ष शारदा शाही ठकुरीले जानकारी दिनुभयो ।

कार्यक्रममा गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले नगरको पहिचान बढाउन खेलकुदको भूमिका महत्त्वपूर्ण रहने भन्दै आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरूलाई नगरपालिकाले नीतिगत र आर्थिक रूपमा प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो।
गैँडाकोट नगर बक्सिङ संघकी अध्यक्ष शारदा शाही ठकुरीले गैडाकोटमा बक्सिङ खेलको प्रचुर सम्भावना रहेको र खेलाडीहरूको मनोबल बढाउन प्रतियोगिता गरेको बताउनु भयो । गैंडाकोट नगरपालिकाको गौरवको कार्यक्रम मध्येको एक कार्यक्रम भएकोले सम्पूर्ण खेलप्रेमी महानुभावहरूको साथ र सहयोगले प्रतियोगिता सफल हुने अध्यक्ष ठकुरीले बताउनु भयो ।
विद्यालय स्तरबाटै बालबालिकाहरूलाई प्रतियोगिताले उनीहरूको डरलाई आत्मविश्वासमा बदल्ने र भविष्यका राष्ट्रिय च्याम्पियनमा उत्पादन गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिएको अध्यक्ष ठकुरीले बताउनु भयो ।

गैंडाकोट नगर बक्सिङको आयोजना, जिल्ला बक्सिङ सँघ नवलपुरको प्राविधिक सहयोगमा प्रतियोगिता भएको हो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका सचिव निराजन गौतम र गैँडाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष धामनाथ सापकोटा, गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्की, खेलकुदप्रेमी महिला नेतृ शान्ति न्यौपाने, स्थानीय समाजसेवी पार्वती लम्साल र कराते प्रशिक्षक कोपिला मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा खेलकुद, राजनीति र सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। गैंडाकोट नगर बक्सिङका उपाध्यक्ष शुदर्शन श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा उपाध्यक्ष गणेश अधिकारीले सहजिकरण गर्नुभएको थियो ।
