कक्षा १२ को नतिजा ४५ दिनभित्र सार्वजनिक गर्ने बोर्डको तयारी

२०८३ जेठ १३ बुधबार १५:४९:०० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल परीक्षा सम्पन्न भएको ४५ दिनभित्र सार्वजनिक गर्ने तयारी अघि बढाएको छ । नतिजा प्रकाशन प्रक्रियालाई तीव्र बनाउँदै बोर्डले मूल्यांकन तथा तथ्यांक व्यवस्थापनको काम दु्रत गतिमा सञ्चालन गरिरहेको जनाएको छ । परीक्षा सम्पन्न भएको करिब दुई साताको अवधिमै नतिजासम्बन्धी आधाभन्दा बढी काम सम्पन्न भइसकेको बोर्डले जनाएको छ।

 

हाल उत्तर पुस्तिका परीक्षणको कार्य ५० प्रतिशतभन्दा बढी सकिएको जानकारी दिइएको छ । बोर्डका अनुसार परीक्षण सम्पन्न भएका उत्तरपुस्तिकाको प्राप्तांक सम्परीक्षण गरी कम्प्युटर प्रणालीमा प्रविष्ट गर्ने कामसमेतसँगसँगै भइरहेको छ । जुन विषयको परीक्षण सकिन्छ, त्यसको सम्परीक्षण र तथ्यांक प्रविष्टिको काम तत्कालै अघि बढाइएकाले नतिजा प्रकाशन प्रक्रिया छिटो हुने अपेक्षा गरिएको छ ।


नतिजा सार्वजनिक गर्न ढिलाइ नहोस् भन्ने उद्देश्यले परीक्षा सकिएकै दिनदेखि उत्तर पुस्तिका परीक्षण सुरु गरिएको बोर्डले जनाएको छ । हाल देशभरका ४२ वटा परीक्षण केन्द्रमार्फत उत्तर पुस्तिका मूल्याड्ढन कार्य भइरहेको छ । यस वर्ष कक्षा १२ परीक्षामा देशभरबाट करिब ४ लाख १८ हजार विद्यार्थी सहभागी भएका थिए ।