जैविक मल उत्पादक सामुदायिक वनलाई प्रविधि हस्तान्तरण
नवलपुर । वनमा खेरा गएको पातपतिङ्गर संकलन गरेर व्यवसायिक रुपमा जैविक मल उत्पादन गर्दै आएको विनयी सामुदायिक वनलाई मल उत्पादनमा सहजताका लागि प्रविधि हस्तान्तरण गरिएको छ ।
संयुक्त राष्ट्रसंघीय कृषि तथा खाद्य संगठन (एफएओ), विनयी त्रिवेणी गाउँपालिका र सामुदायिक वनको समेत सहभागितामा मल उत्पादन कार्यमा सहजताका लागि ट्याक्टर, कम्पोस्ट टर्नर, कम्पोस्ट मिक्सिङ्ग मेसिन, कम्पोस्ट क्रसर÷पल्भराइजर हस्तान्तरण गरिएको हो । नवलपरासी पूर्वको विनयी सामुदायिक वन उपभोक्ता समुहले वनमा खेरा गएका पातपतिङ्गर सहित मिचाह प्रजातिका झाडीहरु सफाई गरी त्यसबाट जैविक मल उत्पादन गर्दै आएको छ । उत्पादित मललाई प्याकेजिङ्ग गरेर बिक्रि वितरण गर्दै आएको सामुदायिक वन समूहलाई बोरा सिलाई मेसिन र कन्टिन्युअस ब्याण्ड सिलर समेत हस्तान्तरण गरिएको छ ।
जैविक मल उत्पादक उद्यमको मूल्य अभिवृद्धिका लागि प्रविधि हस्तान्तरण कार्यक्रम सहभागी संयुक्त राष्ट्रसंघीय कृषि तथा खाद्य संगठन (एफएओ) का नेपाल तथा भूटान प्रतिनिधि केन सिमीले समुदायस्तरबाट वन तथा वातावरण संरक्षणमा भएको यस कार्यको प्रसंशा गर्नुभयो । उहाँले परम्परात शैलिमा जैविक मल उत्पादन गर्नु निकै कठिन रहेको भन्दै विनयी सामुदायिक वनमा महिला नेतृत्वमा भएको जैविक मल उत्पादन कार्यको लागि बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले जैविक कृषि तथा वन व्यवस्थापनका प्रयासहरूले वातावरण संरक्षण, दिगो कृषि विकास र स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । जैविक मल उत्पादनले माटोको गुणस्तर र उत्पादनमा पार्ने सकरात्मक प्रभावसंगै वन क्षेत्रमा खेरा गएका इन्धनजन्य वस्तुको व्यवस्थापनले वन डढेलो नियन्त्रणमा खेल्ने भूमिकाको दोहोर फाईदा समुदायले लिन सक्ने बताउनुभयो ।
कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जैविक मल उद्योगले स्थानीय किसानलाई गुणस्तरीय मल उपलब्ध गराउनुका साथै कृषि उत्पादन वृद्धि र स्थानीय आर्थिक गतिविधिमा टेवा पुग्ने बताउनुभयो । स्थानीय सामुदायिक वनबाट रोजगारीको सिर्जना गाउँपालिकाको समेत प्राथमिकतामा रहेको भन्दै उहाँले जैविक मल उत्पादनमा गाउँपालिकाको तर्फबाट आवश्यक सहयोगका लागि आफु तयार रहेको बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वन स्थानीय उपभोक्तासंग जोडिएको संस्था भएको भन्दै सामुदायिक वनबाट विपन्न तथा गरिव परिवारका लागि स्वरोजगार अभिबृद्धि गर्न सकिने बताउनुभयो । उहाँले वन ऐन २०७६ मा कृषि वनको विषय समेत समेटिएको भन्दै उद्योग सम्बन्धी ऐन लगायत अन्य कानुनि अड्चन हटाएर सामुदायिक वनलाई उद्यम र उद्योगसंग जोड्नुपर्ने बताउनुभयो । विनयी सामुदायिक वनले गरेको असल अभ्यासहरु देशका अन्य सामुदायिक वनहरुका लागि समेत सिकाईको विषय बनेको बताउनुभयो ।
विनयी सामुदायिक वनको व्यवस्थापनमा सञ्चालित विनयी जैविक मल उद्यममा हाल १० वटा सामुदायिक वन उपभोक्ता समूह आबद्ध रहेका छन् । सामुदायिक वन उपभोक्ता समूहहरूको जीविकोपार्जन कार्यक्रम अन्तर्गत २०७५÷०७६ सालदेखि सुरु भएको अभियान कोभिड महामारीका चुनौती पार गर्दै अहिले दिगो वन उद्यमका रूपमा विकास भएको समूहका अध्यक्ष बालु पुरीले बताउनुभयो ।
पहिलो चरणमा २०७९ सालमा फेकोफन र एफएओको वन तथा कृषि सहज कार्यक्रमको सहयोगमा उद्योगको पहिचान तथा प्रारम्भिक सहयोग गरिएको थियो । हाल उद्योग पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ, जहाँ २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने हजारौं घरपरिवार अप्रत्यक्ष रूपमा लाभान्वित भएको पुरीले बताउनुभयो ।
उद्योगमा आधुनिक मेसिन, टर्नर, प्याकेजिङ मेसिन तथा ट्र्याक्टरको प्रयोगमार्फत उत्पादन विस्तार गरिएको छ । हालसम्म करिब १ लाख २५ हजार किलो जैविक मल उत्पादन भइसकेको र आगामी दिनमा वार्षिक १२ लाख किलो उत्पादन गर्ने लक्ष्य लिइएको अध्यक्ष पुरीले जानकारी दिनुभयो । उद्योग सञ्चालनका लागि एफएओ नेपालबाट ४२ लाख २४ हजार ७ सय रुपैयाँ तथा उद्यमको सहलगानी मार्फत ११ लाख २२ हजार रुपैयाँ लगानी गरिएको सामुदायिक वनका व्यवस्थापक मिना पौडेलले बताउनुभयो ।