मदन–आश्रित स्मृति दिवस मनाउँदै नेकपा (एमाले)

२०८३ बैशाख ३० बुधबार १८:५५:०० मा प्रकाशित

भरतपुर । जेठ ३ गते परेको मदन-आश्रित स्मृति दिवसको अवसर पारेर नेकपा (एमाले) चितवनले विविध कार्यक्रम गर्ने भएको छ । जिल्ला पार्टी कार्यालय भरतपुरमा बुधबार बसेको जिल्ला पदाधिकारीको बैठकले सो निर्णय गरेको जिल्ला सचिव प्रकाश ढुंगानाले बताउनुभयो ।


पार्टी जिल्ला अध्यक्ष कमलराज पाठकको अध्यक्षतामा बसेको बैठकले स्मृति दिवस मनाउन जेठ १ गतेदेखि ५ गतेसम्म नै कार्यक्रम तय गरेको छ । जसअनुसार जेठ १ गते परेको युवा विद्यार्थी दिवसको अवसर पारेर पार्टीको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियु चितवनले सोही दिन विद्यालयमा शैक्षिक सामग्री वितरण गर्ने तथा जेठ २ गते दुर्घटनास्थल कविलासको दासढुंगामा सरसफाई कार्यक्रम गर्ने छन् । जेठ ३ गते जिल्ला पार्टी कार्यालय भरतपुरमा बिहान ७ बजे भेला भई दासढुंगा पुगी दिवंगत नेता मदन-आश्रितप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय भएको सचिव ढुंगानाले बताउनुभयो ।


त्यसैगरी, जेठ ४ गते मदन-आश्रितको स्मृतिमा जिल्ला समन्वय समिति, चितवनको सभाकक्षमा विचार गोष्ठी कार्यक्रम गरिने भएको छ । सो कार्यक्रम गर्न नेकपा (एमाले)को शुभेच्छुक संस्था मदन भण्डारी फाउन्डेसन, चितवनलाई जिम्मा दिने निर्णय भएको छ । त्यस्तै मदन भण्डारीको शव प्राप्त भएको स्थान पश्चिम चितवनको गाजीपुरमा जेठ ५ गते जननेता भण्डारीको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिने कार्यक्रम रहेको सचिव ढुंगानाको भनाइ छ ।

 


२०५० साल जेठ ३ गते रहस्यमय जीप दुर्घटनामा पर्नुभएका पार्टीका तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख कुशल संगठक जीवराज आश्रितको स्मृतिमा दुर्घटनास्थल कविलासको दासढुंगामा श्रद्धाञ्जली सभाको आयोजना गरी स्मृति दिवस मनाउँदै आएको छ । नेकपा (एमाले)ले सो दुर्घटनालाई नेताद्वयको रहस्यमय हत्या भन्दै आएको छ ।