तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारीमा त्रिवि
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले लामो समयदेखि रोकिएका तथा अनियमित भएका परीक्षालाई व्यवस्थापन गर्दै शैक्षिक प्रणालीलाई नियमित बनाउने अभियानलाई तीव्र बनाएको छ । यसक्रममा तीन दशकअघिदेखि अध्ययन अधुरो रहेका विद्यार्थीहरूलाई समेत मौका परीक्षा दिने व्यवस्था गरिएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार आगामी साउनदेखि नियमित शैक्षिक पात्रोअनुसार परीक्षा सञ्चालन गर्ने लक्ष्यका साथ अहिले एकै महिनामा तीनदेखि चार किसिमका परीक्षा सञ्चालन भइरहेका छन् । परीक्षा नियन्त्रक लक्ष्मण पौडेलका अनुसार २०५३ सालदेखि रोकिएका मौका परीक्षासमेत असारभित्रै सक्ने तयारी भइरहेको छ । हाल वैशाख महिनामा स्नातक तहका विभिन्न कार्यक्रमअन्तर्गत बीएएलएलबी दोस्रो वर्ष, नियमित स्नातक दोस्रो वर्ष तथा विटेक पहिलो र दोस्रो वर्षका परीक्षा सञ्चालन भइरहेका छन् ।
त्यस्तै, जेठ महिनाका लागि तीनवर्षे र चारवर्षे स्नातक तहको पहिलो वर्ष, बीएएलएलबी तेस्रो वर्ष र विटेक तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक भइसकेको छ । असार महिनामा भने सबै संकायका स्नातक चौथो वर्षका नियमित परीक्षा लिने योजना बनाइएको छ। त्रिविले कोरोना महामारी र विभिन्न आन्दोलनका कारण प्रभावित भएका सम्पूर्ण परीक्षा असारभित्रै सम्पन्न गरी साउनदेखि पूर्ण रूपमा नियमित प्रणालीमा फर्किने लक्ष्य राखेको छ ।
हाल सञ्चालन भइरहेका परीक्षामा करिब एक लाख १५ हजार विद्यार्थी सहभागी छन्। साथै, परीक्षा सम्पन्न भएको अधिकतम सय दिनभित्र नतिजा प्रकाशन गर्ने प्रणालीलाई कडाइका साथ कार्यान्वयन गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।