मुक्तिनाथ न्यौपानेको “जीवनयात्रा” पुस्तक लोकार्पण

२०८३ बैशाख १८ शुक्रबार १९:२१:०० मा प्रकाशित

चितवन । देवघाटधाम, भरतपुर महानगरपालिका-१ स्थित कौण्डिन्न्य ऋषि आश्रममा न्यौपाने कल्याण समाज, देवघाटधाम नेपालको वार्षिक कुलायन पूजा, कृति लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

 

बुद्ध पूर्णिमाको पावन अवसरमा शुक्रबार संस्थाका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यमुनाप्रसाद न्यौपाने प्रमुख अतिथि तथा प्रतिनिधि सभा सदस्य माननीय ई.श्रीराम न्यौपाने (तनहुँ क्षेत्र नं. २) विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो । 

कार्यक्रममा साहित्यकार होमनाथ घिमिरेद्वारा लिखित मुक्तिनाथ न्यौपानेको “जीवनयात्रा” (संघर्ष र प्रेरणा) नामक पुस्तकको लोकार्पण गरिएको थियो। सो अवसरमा लेखकले आफ्नो लेखन अनुभवबारे काव्यात्मक शैलीमा प्रस्तुति दिनुभएको थियो।


९० वर्षीय मुक्तिनाथ न्यौपानेको जीवनमा आधारित उक्त कृतिका नायकलाई न्यौपाने बन्धुहरूद्वारा विशेष सम्मान गरिएको थियो । साथै, उहाँले न्यौपाने कल्याण आश्रममा पुर्‍याउनुभएको योगदानबारे संस्थाका अध्यक्ष  रामहरि न्यौपानेले विशेष रूपमा चर्चा गर्नुभयो।


सोही अवसरमा प्रतिनिधि सभा सदस्य ई. श्रीराम न्यौपानेलाई न्यौपाने कल्याण समाज, देवघाटधाम चितवनको तर्फबाट सम्मान प्रदान गरिएको थियो। वार्षिक कुलपूजामा देशका विभिन्न स्थानबाट करिब ३०० जना न्यौपाने बन्धुहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको संस्थाका कोषाध्यक्ष ई.सूर्यकान्त न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।