गैँडाकोट–६ का योजना प्राथमिकतामा राखेर सम्बोधन गर्ने मन्त्री नेपालीको प्रतिबद्धता

२०८३ बैशाख १७ बिहीबार १५:४८:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. ६ को वडा कार्यालयमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री गोविन्द बहादुर नेपालीले बिहीबार अवलोकन गर्नुभएको छ। उक्त अवलोकन कार्यक्रमका क्रममा मन्त्री नेपालीले वडामा सञ्चालनमा रहेका तथा प्रस्तावित योजनाहरूलाई प्राथमिकताका साथ यथोचित रूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

वडा अध्यक्ष सुवास चपागाईं का अनुसार मन्त्री नेपालीको स्वागतसँगै आयोजित कार्यक्रममा वडाको समग्र विकास, पूर्वाधार विस्तार तथा पछाडि परेका समुदायको उत्थानका विषयमा विस्तृत छलफल भएको थियो। मन्त्री नेपालीले स्थानीय आवश्यकताअनुसार योजना छनोट तथा कार्यान्वयनमा प्रदेश सरकार सकारात्मक रहेको उल्लेख गर्दै आवश्यक समन्वय र सहकार्यमार्फत योजनाहरू अघि बढाइने स्पष्ट पार्नुभयो।

अवलोकनका क्रममा वडामा रहेका विभिन्न योजनाहरूको अवस्थाबारे जानकारी गराइएको थियो। सो अवसरमा मन्त्री नेपालीले विशेषगरी औद्योगिक विकास, सडक पूर्वाधार, सिंचाइ सुविधा तथा खेलकुद पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो।

वडा नं. ६ मा प्रस्तावित तथा प्राथमिकतामा राखिएका योजनाहरूमा औद्योगिक ग्राम निर्माण, लोपोन्मुख बोटे, माझी र मुसहर समुदायको संरक्षण, व्यवस्थापन तथा आयआर्जन वृद्धि कार्यक्रम, फुटसल कभर्ड हल निर्माण, सिंचाइका लागि लिफ्टिङ योजना सञ्चालन तथा बाँकी रहेका सडकहरूको कालोपत्रे गर्ने योजना रहेका छन्।

मन्त्री नेपालीले यी योजनाहरूले स्थानीय आर्थिक विकास, रोजगारी सिर्जना तथा जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो। साथै उहाँले योजनाहरू कार्यान्वयनका क्रममा कुनै समस्या आए प्रदेश सरकारबाट आवश्यक सहयोग उपलब्ध गराइने आश्वासन पनि दिनुभयो।

वडा अध्यक्ष चपागाईंले मन्त्रीको अवलोकन र प्रतिबद्धताले वडाको समग्र विकासमा नयाँ आशा थपिएको उल्लेख गर्दै आगामी दिनमा योजना कार्यान्वयनमा तीव्रता आउने विश्वास व्यक्त गर्नुभयो।