सामुदायिकमा आकर्षण बढाउन वडाद्वारा निःशुल्क कपि र स्वास्थ्य बिमा
गैँडाकोट । गैँडाकोट नगरपालिका वाड नं.६ ले वडाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई वर्षभरि नै निःशुल्क कपि दिने गरेको छ ।
दुइ वर्षदेखि निःशुल्क कपि दिने अभ्यास गर्दै आएको वडाले यस वर्षपनि निरन्तरता दिइने वडा अध्यक्ष सुभाष चापागाईंले बताउनुभएको छ । वडाभित्र भाग्योदय आधारभूत विद्यालय र सिर्जनशील आधारभूत विद्यालय रहेका छन् । दुबै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क स्टेशनरी दिदै गर्दा बालबालिकामा विद्यालयप्रति आकर्षण र आर्थिक रुपमा कठिन परिवारमा सहजता भएको वडा अध्यक्ष चापागाईंले बताउनुभयो । अध्यक्ष चापागाईंका अनुसारवार्षिक करिब ३ लाख रुपैँया बराबरको कपी बालबालिकाले प्रयोग गर्ने गरेका छन् ।
सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन वडाले विद्यार्थीको परिवारको स्वास्थ्य बिमा गर्दै आएको छ । आफ्नो वडाभित्रका विद्यार्थीको मात्र अहिले स्वास्थ्य बिमा गरेको वडा अध्यक्ष चापागाईंको भनाई छ । सामुदायिक विद्यालयको गुणस्तर र आकर्षण बढाउन अभिभावक सचेतना क्षमता विकास तथा पूर्वाधार सुधारमा वडाले काम गर्दै आएको छ ।