हरि भवानी फाउण्डेशनद्वारा निर्मित सरस्वती मन्दिर विद्यालयलाई हस्तान्तरण 

२०७८ असोज २६ मंगलबार १७:२२:०० मा प्रकाशित


गैँडाकोट । हरि भवानी फाउण्डेशन नेपाल एवं खरेल परिवारद्वारा जनक नमुना मावि परिसर कांग्रेसचोक गैँडाकोटमा निर्मित सरस्वती मन्दिर विद्यालयलाई हस्तान्तरण गरिएको छ । 
निर्मित सरस्वती मूर्तिमा प्राण प्रतिष्ठा र मन्दिर समुद्घाटन पश्चात हस्तान्तरण गरिएको हो । हरि भवानी फाउण्डेशन नेपाल एवं खरेल परिवारले २२ लाख ३८ हजार ७ सय रुपैयाँको लागतमा प्यागोडा शैलीको सुन्दर मन्दिर निर्माण गरि विद्यालयलाई हस्तान्तरण गरेका हुन् । विद्यालयका शिक्षक स्वर्गिय त्रैलोक्यनाथ खरेलको स्मृतिमा फाउण्डेशनले मन्दिर निर्माण गरेको हो । खरेलको २०७७ साल असोज ७ गते निधन भएको थियो । 
फाउण्डेशनका अध्यक्ष एवं स्व. खरेलका दाजु गोपीनाथ खरेलले सामाजिक विकासका साथै विपन्न वर्गका नागरिकलाई सहज शिक्षा र स्वास्थ्यमा पहुँच पु¥याउन स्वर्गिय बाबुआमाको नाममा फाउण्डेशन निर्माण गरि सोहीमार्फत काम गर्दै आएको बताउनुभयो । 
आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै फाउण्डेशनका सचिव कुमारी रेखा पौडेलले ५१ हजार रुपैयाँको अक्षयकोष निर्माण गरि सोहीमार्फत वार्षिक सरस्वती पूजाको व्यवस्था मिलाईएको बताउनुभयो । 


कार्यक्रमका प्रमुख अतिथि श्री परमानन्द संस्कृत गुरुकुल विद्यापिठम् देवघाटका पिठाधिस श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले आत्मा जिवन्त रहने उल्लेख गर्दै हरेक व्यक्तिले सत्कर्म गर्नुपर्नेमा जोड दिनुभयो । 
नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा. शाशांक कोईरालाले शिक्षामा स्व. त्रैलोक्यनाथ खरेलको ठूलो योगदान रहेको बताउँदै उहाँको स्मृतिमा निर्माण भएको मन्दिरको रेखदेखमा विद्यालयले राम्रो ध्याना दिने विश्वास व्यक्त गर्नुभयो । 
कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल, उप प्रमुख विष्णुकमारी कंडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज कंडेल, समाजसेवी तिलकप्रसाद सापकोटा, विद्यालयका पूर्व अध्यक्ष मदनभक्त अधिकारी, शिक्षा विकास तथा समन्वय ईकाई पश्चिम नवलपरासीका प्रमुख दोलराज पाण्डे लगायत जनप्रतिनिधि, शिक्षप्रेमी, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चुडामणी शर्माले स्वागत गर्नुभएको थियो ।