घडियाल गोहीको गुँड खोज्दै ःचितवन राष्ट्रिय निकुञ्ज
चितवन । राप्ती नदीमा रहेका घडियाल गोहीका गुँड खोज्न सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले हरेक वर्ष चैत र वैशाखमा घडियाल गोहीको नदीमा गुँड खोजी गरिन्छ ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार यही चैत १ गतेदेखि गुँड खोज्ने काम सुरु गरिएको हो भने यसलाई वैशाख १० गतेसम्म निरन्तरता दिइने छ । यसका लागि बोटे समुदायका दुई जनालाई परिचालन गरिएको उहाँले बताउनुभयो ।
गुँड खोजिसकेपछि पुनः कर्मचारी परिचालन गरी अण्डा सङ्कलनको काम सुरु गरिने छ । उहाँले भन्नुभयो, “अहिले गुँड पहिचानको काम भइरहेको छ । यस लगत्तै अण्डा सङ्कलनको काम गरिने छ ।” गुँडमा रहेका अण्डा सङ्कलन गरी कार्यालयमा रहेको गोही प्रजनन केन्द्रमा लगेर बच्चा कोरल्ने प्रक्रिया सुरु गरिने उहाँले जानकारी दिनुभयो । यसअघिका वर्षहरूमा निकुञ्जले राप्ती र नारायणी नदीमा गोहीका गुँड खोज्ने काम गरे पनि यस वर्ष राप्ती नदीमा मात्र खोज्न लागिएको हो । रासस