नवलपुरमा वैशाख २ देखि आर्थिक गणना सुरु
नवलपुर । नवलपुर जिल्लामा आगामी वैशाख २ गतेदेखि आर्थिक गणनाको कार्य सुरु हुने भएको छ। असार ७ गतेसम्म जिल्लाभर आर्थिक गणनाको काम सञ्चालन हुने जिल्ला आर्थिक गणनाको कार्यालय नवलपुरले जनाएको छ । राष्ट्रिय स्तरमा सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गतका जिल्ला आर्थिक गणना कार्यालयमार्फत विभिन्न आर्थिक गतिविधिसम्बन्धी विवरण संकलन गरिनेछ ।
आर्थिक गणनाका लागि खटिएका गणकहरू हरेक प्रतिष्ठान, उद्योग, व्यवसाय तथा अन्य आर्थिक एकाइहरूमा पुगेर आवश्यक तथ्याङ्क संकलन गर्ने जनाइएको छ । यस गणनामा जिल्लाभित्र सञ्चालनमा रहेका सबै प्रकारका आर्थिक एकाइहरूको विवरण संकलन गरिनेछ । नेपालमा पहिलो आर्थिक गणना २०७५ सालमा गरिएको थियो ।