राजमार्ग क्षेत्रमा नेटवर्क समस्या समाधानका लागि जंगलमा टेलिकमको टावर
नवलपुर । मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका कारण यात्रुले सास्ती भोग्दै आएको अवस्थामा समाधानका लागि नवलपुरको जंगल क्षेत्रमा टेलिकमको टावर निर्माण गरिएको छ ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुरको अरुणखोला-दुम्किबास बीचको जंगल क्षेत्रमा टेलिकमको टावर निर्माण गरिएको नेपाल टेलिकम कावासोती शाखाका प्रमुख निरोज घिमिरेले जानकारी दिनुभयो । उक्त क्षेत्रमा टावर जडान भएपछि अहिले नेटवर्क समस्या समाधान भएको उहाँले बताउनुभयो ।
मुख्य राजमार्गमा मोबाइल नेटवर्क नहुँदा कहिलेकाहीँ विपद् पर्दा सञ्चार अभावका कारण उद्धार कार्यमा ढिलाइ हुने समस्या देखिएपछि जिल्ला विपद् व्यवस्थापन समितिले यसअघि नै राजमार्ग क्षेत्रमा नेटवर्क विस्तार गर्न सुझाव दिएको थियो । नवलपुरको चोरमारा-अरुणखोला र डण्डा-अरुणखोला खण्डको राजमार्ग स्थित जंगल क्षेत्रमा समेत नेटवर्क समस्या रहेकाले ती स्थानलाई पनि टावर जडानका लागि प्राथमिकतामा राखिएको प्रमुख घिमिरेले बताउनुभयो ।
नेपाल टेलिकमले कालीगण्डकी करिडोर र जिल्लाका पहाडी क्षेत्रलाई समेत लक्षित गरी टावर निर्माणलाई प्राथमिकता दिएको उहाँले जानकारी दिनुभयो । प्रमुख घिमिरेका अनुसार बुलिङटारको बोझापोखरीमा टावर निर्माण कार्य सम्पन्न भइसकेको र केही दिनमै सञ्चालनमा आउने तयारी रहेको छ ।
यस्तै, बुलिङटारकै थामबेसीमा टावर निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भइसकेको छ भने जिल्लाको पहाडी क्षेत्र विनयी त्रिवेणीको धुरकोटमा र पर्यटकीय क्षेत्र अमलटारीमा टावर निर्माणका लागि अनुमति प्राप्त भएको र हुप्सेकोटको चारघरेमा सर्वेक्षण कार्य सम्पन्न भई अनुमति प्रक्रियामा रहेको छ ।