गैँडाकोटमा समुदायस्तर मतदाता शिक्षा कार्यक्रम
गैँडाकोट । गैँडाकोटमा समुदायस्तरमा मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । महिला कानुन र विकास मञ्चको आयोजना तथा मिडिया एकेडेमि ग्रुपको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रम शनिबार गैँडाकोटस्थित विजय विकास स्रोत केन्द्रको सभाहलमा सम्पन्न भएको थियो ।
कार्यक्रममा अधिवक्ता तथा रेडियो साइनोकी पत्रकार सिर्जना अर्यालले मत बदर नहोस् भन्ने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले मतपत्र सही तरिकाले पट्याउने, स्वस्तिक छाप सही स्थानमा लगाउने तथा गोप्य मतदानको अभ्यास गराइएको जानकारी दिनुभयो ।
संस्थाले यसअघि चितवनको माडी लगायत विभिन्न स्थानहरूमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिसकेको बताइएको छ । कार्यक्रममा सहभागीहरूलाई महिला र पुरुषको छुट्टाछुट्टै दुई लाइन बनाई वास्तविक मतदान प्रक्रिया जस्तै अभ्यास गराइएको थियो । साथै मतदाता सचेतना, आचारसंहिता, मताधिकारको महत्व तथा बदर मत न्यूनीकरणका उपायबारे पनि जानकारी दिइएको थियो ।
कार्यक्रममा करिब ६५ जना प्रशिक्षार्थीहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ । सहभागीहरूले यस्ता कार्यक्रमले मतदान प्रक्रियाबारे स्पष्ट बुझ्न मद्दत पुगेको प्रतिक्रिया दिएका थिए ।