लक्ष्मीनारायण मुक्तिनाथ मन्दिर समुद्घाटन तथा मूर्ति प्राणप्रतिष्ठान
गैंडाकोट । गैंडाकोट–८ मा रहेको लक्ष्मीनारायण मुक्तिनाथ मन्दिरको समुद्घाटन तथा विष्णु–लक्ष्मीको मूर्ति प्राणप्रतिष्ठान कार्यक्रम शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको आयोजना मुक्तिनाथ भजन कीर्तन समूहले गरेको हो।
कार्यक्रममा देवघाट हरिहर आश्रमका आचार्य गुरु लक्ष्मण भण्डारी विशिष्ट अतिथिका रूपमा सहभागी भई प्राणप्रतिष्ठा पूजा तथा विशेष आर्चना सम्पन्न गर्नुभएको थियो। उहाँले लक्ष्मीनारायण मन्दिरमा प्राणप्रतिष्ठा गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा मन्दिरमा विधिपूर्वक नियमित पूजा–अर्चना सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो। साथै तीन दिनसम्म खटिएर सेवा गर्ने भक्तजन, पूजारी, गुरु तथा सम्पूर्ण सहयोगीप्रति धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले यस मन्दिरमा लक्ष्मीनारायणको पूजा मात्र नभई विष्णु पञ्चायतनको पूजा पनि गरिनुपर्ने उल्लेख गर्नुभयो।
कार्यक्रमको समापन गर्दै मुक्तिनाथ भजन कीर्तन समूहकी अध्यक्ष सितादेवी अधिकारीले लामो समयदेखि रहेको मन्दिर निर्माणको सपना आज साकार भएको बताउनुभयो। बीचमा विभिन्न समस्याका कारण निर्माण कार्य ढिलाइ भएको स्मरण गर्दै उहाँले सहयोग गर्ने सम्पूर्ण टोलवासी तथा सहयोगी हातहरूलाई आभार व्यक्त गर्नुभयो। आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती महाराज, कास्की जिल्ला पोखरा निवासी हिन्दु धर्मका प्रमुख वक्ता तथा श्रीमद् भागवत कथाका प्रमुख वाचक दीपक सापकोटा, समाजसेवी व्यक्तित्व चूडामणि सुवेदी, युवा पण्डित तथा मन्दिरका सल्लाहकार चेतराज कडेललगायत टोलवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
मुक्तिनाथ भजन कीर्तन समूहकी अध्यक्ष सितादेवी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण समूहका उपाध्यक्ष बासुदेव आचार्यले गर्नुभएको थियो।