शोकका बीच मतदातासम्म पुग्दै भागिरथ सापकोटा

२०८२ फाल्गुण ७ बिहीबार १३:२५:०० मा प्रकाशित

कावासोती । भ्रातृशोकमा रहनु भएका नेकपा एमालेको तर्फबाट नवलपुर क्षेत्र नं. १ का उम्मेदवार भागिरथ सापकोटाले बिहिबारबाट मतदाता समक्ष आफ्नो भेटघाट शुरु गर्नु भएको छ ।

मंगलबार सोहदर दाईको निधनपस्चात आफ्नो चुनावी अभियान स्थगित गर्नु भएका सापकोटाले बिहिबार देवचुली नगरपालिका १७ मा मतदाता समक्ष भेटघाट तथा घरदैलो गर्नु भयो ।

उहाँको दाई तेजेन्द्र सापकोटाको मंगलबार निधन भएको थियो । उहाँ अहिले पारिवारिक शोकमा हुनुहुन्छ । पारिवारिक शोकका बीच मतदाता समक्ष उपस्थित भएर आफुले गरेका प्रतिबद्धताहरु पुरा गर्न आफु सदैव प्रतिबद्ध भएर लागि पर्ने उहाँले मतदाता समक्ष विश्वास दिलाउनु भएको छ ।

यस क्षेत्रको सर्वपक्षिय बिकासका लागि आफु एकदत्तचित्त भएर लागि पर्ने उहाँले बताउनुभयो । यस क्षेत्रमा रोजगारीका अवसरहरु के हुन सक्छन् ?, पर्यापर्यटनको सम्भावना के छ ?, पूर्वधार बिकासलाई कसरी अगाडी बढाउन सकिन्छ ?, गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूति, निशुल्क शिक्षाको कार्यान्वयन सहित भूमिहिन सुकुम्बासी समस्या समाधान, कृषि उत्पादनको बृद्धि लगायको क्षेत्रमा जनताबाट प्राप्त सुझाव, बिज्ञहरुको सल्लाह अनुसार आफुले काम गर्ने उहाँले प्रतिबद्धता जनाउनु भएको थियो ।

भेटघाटको क्रममा मतदाताहरुले राष्ट्र र राष्ट्रियताको रक्षा, यस क्षेत्रको समग्र बिकासको अपेक्षालाई केन्द्रमा राखेर यस पटक सुर्य चिन्हमा मतदान गर्ने बताएका थिए । चुनावको बेलामा प्रतिद्धता गर्ने तर पछि बिसर्ने विगतका संसदहरुले गरेको भन्दै यस पटकपनि त्यस्तै भए आफुहरुलाई त्यो स्वीकार्य नहुने बताएका थिए । सो अवसरमा सापकोटाले यस क्षेत्रको समग्र बिकासका लागि आफु सदैव क्रियाशिल हुने बाचा गर्नुभयो ।