जनक नमुना माध्यमिक विद्यालयको ६७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

२०८२ माघ २७ मंगलबार १८:४०:०० मा प्रकाशित

गैंडाकोट । जनक नमुना माध्यमिक विद्यालयको ६७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । कार्यक्रम मंगलबार विद्यालयको प्राङ्गणमा सम्पन्न भएको हो ।

 

कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले विद्यालयले विभिन्न अवरोधहरू पार गर्दै यहाँसम्म आइपुगेको उल्लेख गर्दै विगतदेखि नै विद्यालयले प्रशंसनीय काम गर्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि अझ राम्रो कार्य गर्न विद्यालय परिवारलाई आग्रह गर्नुभयो । साथै, अभिभावकहरूलाई आफ्ना बालबालिकाको पढाइमा विशेष ध्यान दिन, गृहकार्य गरेको–नगरेको जाँच गर्न र अध्ययनप्रति चासो देखाउन अनुरोध गर्नुभयो । विद्यार्थीहरूलाई पनि अध्ययनलाई अब्बल बनाएर उज्ज्वल भविष्य निर्माण गर्न शुभकामना व्यक्त गर्नुभयो ।

 

 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बुद्धिसागर पण्डितले विद्यालयको शैक्षिक गतिविधिसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, समाजसेवी तथा नगर सचिव गोविन्द घिमिरेले विद्यालय नवलपुरकै उत्कृष्ट विद्यालय बन्न सफल हुनुमा शिक्षकहरूको मेहनत, अभिभावकको सहयोग र विद्यार्थीहरूको लगनशीलताको ठूलो भूमिका रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि अभिभावकहरूले आफ्ना बालबालिकाको उचित ख्याल राख्न आग्रह गर्नुभयो ।

 

 

कार्यक्रमका बीचमा विद्यार्थीहरूले विविध सांस्कृतिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि मदनभक्त अधिकारी र विशिष्ट अतिथि शान्ति कोइरालाको उपस्थिति रहेको थियो । साथै, भूमि आयोग नवलपुरका अध्यक्ष तारापति खरेल, गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे, संस्थापक नगर प्रमुख छत्रराज पौडेललगायत अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक विष्णु प्रसाद रिजाल र हिमालयदेव पंगेनीले गर्नुभएको थियो ।