निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न जिल्ला प्रशासन चितवनको आग्रह

२०८२ माघ १४ बुधबार १७:५९:०० मा प्रकाशित

चितवन । चितवन जिल्ला प्रशासन कार्यालय चितवनले आसन्न निर्वाचनलाई मर्यादित, निष्पक्ष र शान्तिपूर्ण बनाउन सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरेको छ ।

 

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै दल वा उम्मेदवारको चुनाव चिह्नको पोस्टर, ब्यानर तथा प्रचार सामग्री जथाभावी टाँस्न, सार्वजनिक स्थलमा प्रदर्शन गर्न तथा साम्प्रदायिक विद्वेष फैलाउने किसिमका प्रचार-प्रसार गर्न नपाइने स्पष्ट पारेको छ । साथै निर्वाचन अधिकृतको अनुमति बिना उम्मेदवार सम्बन्धित क्षेत्रमा तोकिएको सीमा भन्दा बढी सवारी साधन प्रयोग गर्न समेत निषेध गरिएको छ ।

 

सूचनामा उल्लेख भएअनुसार, निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेमा प्रचलित कानुन अनुसार कारबाही हुने छ। निर्वाचन आचारसंहिता २०७९ को दफा ४८ बमोजिम उम्मेदवारी रद्द हुनेसम्मको व्यवस्था रहेको हुँदा सबैलाई सचेत रहन प्रशासनले आग्रह गरेको छ ।

 

जिल्ला प्रशासन कार्यालय चितवनले आचारसंहिता उल्लंघनन भएको देखे वा जानकारी पाएमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई जानकारी गराउन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ ।