जिल्ला सहकारी सङ्घ नवलपरासी (बर्दघाट सुस्तापूर्व)को ४३औँ वार्षिक साधारणसभा सम्पन्न
नवलपुर । जिल्ला सहकारी सङ्घ लिमिटेड नवलपरासी (बर्दघाट सुस्तापूर्व) को ४३औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ।
कार्यक्रममा कावासोती नगरपालिकाका नगरप्रमुख विष्णुप्रसाद भुसालले जिल्ला सहकारी सङ्घ सहकारी सहकार्यको उदाहरणीय संस्था भएको उल्लेख गर्दै जिल्लाभरका सहकारी संस्थाहरूबीच समन्वय र नियमन गर्न सङ्घले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले नगरपालिकाकोतर्फबाट हुनुपर्ने आवश्यक काम र सहयोग निरन्तर रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
जिल्ला सहकारी सङ्घ लिमिटेड नवलपरासी (बर्दघाट सुस्तापूर्व)का अध्यक्ष तिलकप्रसाद पराजुलीले सहकारीहरू आपसी सहकार्य गर्दै अघि बढिरहेको र जिल्लामा रहेका सहकारी संस्थाहरूबीच समन्वय तथा सहकार्यको भूमिकामा सङ्घ सक्रिय रूपमा काम गरिरहेको बताउनुभयो।
कार्यक्रममा सचिव श्यामसुन्दर शर्मा लामिछानेले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष टिकाराम कण्डेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साधारणसभामा नेप्सकुनका सञ्चालक गोपालप्रसाद गौतम, जिल्ला सहकारी सङ्घ लिमिटेडका पूर्व अध्यक्ष एवं सल्लाहकार केशवप्रसाद सापकोटा, जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडका अध्यक्ष बद्रीनाथ नेपाल, जिल्ला कृषि सहकारी सङ्घ लिमिटेडका अध्यक्ष देवकीकुमारी भण्डारी, जिल्ला दुग्ध सहकारी सङ्घ लिमिटेडका अध्यक्ष रुद्रप्रसाद सुवेदी, जिल्ला सामाजिक उद्यमी महिला सहकारी सङ्घ लिमिटेडका अध्यक्ष धर्मा न्यौपाने, राष्ट्रिय सहकारी बैंक लिमिटेडको औषधि शाखाका प्रबन्धक धर्म भुजेललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपाध्यक्ष खिनाकुमारी न्यौपाने भुसालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सचिव श्यामसुन्दर शर्मा लामिछानेले सहजीकरण गर्नुभएको थियो ।