देवघाटधामलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

२०८२ पौष ९ बुधबार १७:५९:०० मा प्रकाशित

देवघाट । नेपालकै प्रमुख धार्मिक तथा सांस्कृतिक तीर्थस्थल देवघाटधामलाई प्लास्टिक निषेधित क्षेत्रको रूपमा घोषणा गरिने भएको छ । देवघाट क्षेत्र विकास समितिको आयोजनामा यही पौष ११ गते विशेष कार्यक्रमकाबीच उक्त घोषणा गरिने समितिले जनाएको छ ।

 

बढ्दो शहरीकरण, अव्यवस्थित बस्ती विकास, आधुनिक जीवनशैली तथा सार्वजनिक स्थलको अतिक्रमणका कारण धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा वातावरणीय सम्पदाको संरक्षण चुनौतीपूर्ण बन्दै गएको सन्दर्भमा देवघाटधाममा बढ्दो प्लास्टिक प्रदूषणले वातावरण, नारायणी नदी र धार्मिक मर्यादामा नकारात्मक असर पारिरहेको समितिको भनाइ छ ।

 

यसलाई मध्यनजर गर्दै देवघाट क्षेत्रको सरसफाइलाई थप प्रभावकारी बनाउँदै स्वच्छ, स्वस्थ, सफा, सुन्दर, सभ्य र समृद्ध देवघाट निर्माण गर्ने लक्ष्यसहित प्लास्टिक निषेधको निर्णय गरिएको हो । घोषणापश्चात् देवघाटधाम क्षेत्रभित्र एकपटक प्रयोग हुने ४० माइक्रोनभन्दा पातला प्लास्टिक झोला, प्लास्टिकका बोतल, गिलास, प्लेटलगायत अन्य प्लास्टिकजन्य सामग्रीको प्रयोग निषेध गरिनेछ । यसको सट्टा जैविक तथा वातावरणमैत्री वैकल्पिक सामग्रीको प्रयोगलाई प्रोत्साहन गरिने समितिले जनाएको छ ।

 

यस अभियानमा देवघाट क्षेत्र विकास समितिको अगुवाइमा भरतपुर महानगरपालिका, गैंडाकोट नगरपालिका र देवघाट गाउँपालिकाको नीतिगत तथा कार्यगत सहकार्य रहनेछ । साथै डब्लु डब्लु एफ नेपाल, सहमति संस्था, ‘नदीसँगै हामी’ अभियानमा आवद्ध संघ-संस्था, धार्मिक तथा सामाजिक संघसंस्था, व्यापारी, स्वयंसेवक, सरोकारवाला निकाय, सञ्चारकर्मी, नागरिक समाज, टोल विकास संस्था, आमा समूह, मठ-मन्दिर, विद्यालय तथा तीनै तहका सरकारको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ ।

 

नारायणी नदीको सभ्यता, देवघाटधामको पवित्रता, सौन्दर्य र वातावरणीय सन्तुलन जोगाउन सबै श्रद्धालु, व्यापारी तथा आगन्तुकहरूलाई प्लास्टिकको प्रयोग नगर्न र अभियानमा सहयोग गर्न देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. ईश्वरीराज लौडारीले आग्रह गर्नुभएको छ ।