श्री धार्मिक सेवा समिति मौलाकालिका मन्दिरद्वारा आयोजित बृहत् भजन प्रतियोगिता सम्पन्र, कालिका मन्दिर कालिका आश्रम, गैँडाकोट–८ प्रथम
गैँडाकोट । श्री धार्मिक सेवा समिति मौलाकालिका मन्दिरद्वारा आयोजित बृहत् भजन प्रतियोगिता सम्पन्र भएको छ । कार्यक्रम गैँडाकोट–१ स्थित मौलाकालिका मन्दिरको कार्यालय भवन प्राङ्गणमा मंगलबार सम्पन्र भएको हो । प्रतियोगितामा “देवीको महिमा, वैदिक सनातन हिन्दु धर्म संस्कृतिको महत्व” विषयमा विभिन्न समूहहरूले भजन प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा वैदिक पूजा सामग्री भण्डार पुतलीबजार, नारायणगढले प्रथम पुरस्कार, सहमति सप्लायर्स गैँडाकोट ५ ले द्धितीय पुरस्कार, ओम बस्त्रालय मेनरोड नारायणगढ, चितवनले तृतीय पुरस्कार , लम्साल हार्डवेयर गैँडाकोट २ र मौलाकालिका समाज केन्द्र नेपाल गैँडाकोट २ ले सान्त्वन्ना पुरस्कारको प्रायोजन गरेको थियो ।
प्रतियोगितामा कालिका मन्दिर कालिका आश्रम, गैँडाकोट–८ प्रथम भएको छ । प्रथम हुने समूहले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
यसैगरी सप्तऋषि भारद्वाज आश्रम, गैँडाकोट–१ गंगानगरटोल दोस्रो हुँदै १८ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
श्री हरिकीर्तन महिला विकास समूह, हरेराम हरेकृष्ण मन्दिर, गैँडाकोट–१ र २ तृतीय हुँदै १२ हजार रुपैयाँ पुरस्कार हात पारेको छ ।
त्यसैगरी सीताराम मन्दिर रामघाट क्षेत्र विकास समिति, गैँडाकोट–६ भाग्योदयटोल र गोपेश्वर महादेव मन्दिर बोलवम धाम, गैँडाकोट–२ शिवालयटोल ले सान्त्वना स्थान हासिल गर्दै दुई समुहले ५–५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले हिन्दु धर्म र संस्कृतिमा आधारित यस्ता धार्मिक कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा सहभागी सम्पूर्णलाई भजन मण्डली संयोजक ढकबहादुर कार्कीको नेतृत्वमा रहेको समूहले भजन गाएर स्वागत गरेको थियो ।
निर्णायक मण्डलमा लोकगायक अमरविरही गुरुङ, प्रजापति पराजुली तथा संस्थाका संस्थापक अध्यक्ष हिरालाल कँडेल रहनुभएको थियो ।
मन्दिरका अध्यक्ष शालिकराम सापकोटाको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको थियो । मन्दिरका उपाध्यक्ष खगेन्द्रदास कँडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सहजीकरण सचिव श्यामसुन्दर पराजुलीले गर्नुभएको थियो ।