पुस ५ देखि नवलपुरमा प्रथम कावासोती गोल्डकप हुने

२०८२ पौष २ बुधबार १९:११:०० मा प्रकाशित

नवलपुर । नवलपुरमा पुस ५ गतेदेखि प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । सनलाइट सामुदायिक विकास केन्द्रको आयोजनामा कावासोती-१६ डण्डाको मैदानमा हुने प्रतियोगिता ११ दिनसम्म चल्नेछ ।

 

प्रतियोगितामा दुई विदेशी टिमसहित देशभरका १२ उत्कृष्ट टिमको सहभागिता रहने आयोजकले जनाएको छ । विजेता टिमले नगद ३ लाख, उपविजेताले १ लाख ५० हजार तथा तृतीय हुने टिमले ७५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

त्यसैगरी, उत्कृष्ट खेलाडी, गोलकर्ता, गोलकिपर र मिडफिल्डरलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा नाइजेरियाको जस्ट जोन एफसी, भारत कोलकाताको एभीएफसीसहित कावासोतीका दुई स्थानीय क्लव र विभिन्न जिल्लाका टिम सहभागी हुनेछन् । प्रतियोगिता सञ्चालनका लागि १७ लाख रुपैयाँभन्दा बढी खर्च हुने आयोजकले जानकारी दिएको छ ।