अमरापुरीमा विजयश्री मिनिमार्टको तेस्रो शाखाबाट सेवा शुभारम्भ

गैँडाकोट । विजयश्री उपभोक्ता सहकारी संस्था लिमिटेडले गैँडाकोट १६ नम्बर चोक अमरापुरीमा विजयश्री मिनिमार्टको तेस्रो शाखाबाट सेवा शुभारम्भ गरेको छ । यसअघि गैँडाकोटका २ स्थान गैँडाकोट ८ र गैँडाकोट २ शिलान्यासचोकबाट सेवा प्रदान गर्दै आएको सहकारीले मिनि मार्टको तेस्रो शाखा अमरापुरीमा उद्घाटन गरेको हो ।
मिनिमार्टको गण्डकी प्रदेश सभा सदस्य विष्णु लामिछानेले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै उहाँले समयको सदुपयोगका लागि पनि सबै सामाग्री एकै स्थानमा पाईने मार्टको आवश्यकता रहेको बताउनुभयो । अहिलेको समयमा सबै व्यस्त हुने भएकाले यस्ता मार्टले समयको बचत गर्न सघाउने उहाँको विश्वास थियो । साथै उहाँले मार्ट सञ्चालन गर्दा गुणस्तरीय सामानमा ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रमका बोल्दै गँैडाकोट नगरपालिकाका नगर उपप्रमुख विष्णुकुमारी कंडेलले नगरमा खुल्ने यस्ता मार्टहरुमा आफ्नै ठाउँमा उत्पादन हुने सामानहरुलाई प्रथामिकतामा राख्नुपर्ने बताउनुभयो । स्थानीय उत्पादनलाई जोड दिई बजारीकरणका लागि सहजिकरण गर्नुपर्नेमा जोड दिनुभयो । गैँडाकोट नगरपालिकाका सहकारी शाखा प्रमुख देवेन्द्र गौतमले यसरी सहकारीका माध्यमबाट सञ्चालित यस्ता मार्टले समुदायका व्यक्तिलाई धेरै सहज हुने बताउनुभयो । सहकारीको प्रवद्र्धनका लागि नगरपालिकाबाट गर्नुपर्ने सहयोग गर्न सधैँ तयार रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै विजयश्री मिनिमार्टको सञ्चालक संस्था विजयश्री उपभोक्ता सहकारी संस्था लिमिटेडका अध्यक्ष हरिलाल सापकोटाले हरेक व्यक्तिले गुणस्तरीय सामान उपभोग गर्न पाउन भनेर ठाउँ–ठाउँमा स्थापना गरि मिनिमार्ट सञ्चालनमा ल्याएको बताउनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघका सदस्य सुरेन्द्र तिवारी र विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडका अध्यक्ष खेमराज सापकोटाले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाका कार्यबाहक सचिव लिलाधर अधिकारीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको उद्घाटन कार्यक्रमको सहजिकरण संस्थाका उपाध्यक्ष गोपीनाथ खरेलले गर्नुभएको थियो ।