गैँडाकोट पम्पीङमा सुधारको लहर : प्रविधि, नीति र क्षमता विस्तार गरिदै
नवलपरासी पूर्व । गैँडाकोट पम्पीङमा स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा अहिले ५० हजारबढी उपभोक्ता छन् । यी उपभोक्ताले दैनिक १ करोड लिटर पानीको उपभोग गर्दछन् । पानीको माग अनुसार वितरणमा अहिले तत्काल समस्या नरहेको संस्थाका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले बताउनुभयो । न्यौपाने भन्नुहुन्छ “गैँडाकोट पम्पीङले खानेपानी वितरणका लागि पूर्वाधार विकासका साथै सुरक्षित खानेपानी वितरणका लागि प्राथमिकताका साथ काम गरिरहेको छ ।”
खानेपानी मन्त्रालय, खानेपानी विभाग अन्तर्गत ५० करोडको बहुवर्षे योजनामा काम सुरु भएको छ । यही योजना अन्तर्गत यसवर्ष तीन करोडको बजेट परेको छ । यस योजना अन्तर्गत गैँडाकोट वाड नं. १ को कभर्डहल क्षेत्रमा र वेष्टर्न कलेजको क्षेत्रमा दुई वटा बोरिङको स्थापना गर्ने, आवश्यकता अनुसार सबै बोरिङहरुमा फिल्डर प्लाण्टको व्यवस्था गर्नुका साथै पाइपलाइन विस्तार गर्ने योजना अनुरुपमा अब काम सुरु भइरहेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
गैँडाकोट पम्पीङको अहिले साढे १० लाख भण्डारण क्षमता रहेको छ भने निकट भविष्यमा ९ लाख भण्डारण क्षमता विस्तारका लागि योजनागत रुपमा संस्था अघि बढेको अध्यक्ष न्यौपानेले बताउनुभयो । अहिले संस्थासँग तीन वटा ओभरहेड ट्याङ्की रहेको छ भने २ वटा थप गर्ने योजना रहेको छ । अहिले १० वटा बोरिङ छन् भने अब २ वटा थप गर्ने योजना रहेको छ ।
वि.सं. २०७९ जेठ २९ गते गठन भएको कृष्णप्रसाद न्यौपाने नेतृत्वको खानेपानी संस्थाले केहीसमय यता पूर्वाधार विकासका साथै, प्रशासनिक सुधार र नीतिगत सुधारमा काम गरिरहेको छ ।
पञ्चवर्षीय योजना अनुरुप संस्थाले पूर्वाधार तथा सुरक्षित खानेपानी वितरणका लागि योजनागत रुपमा काम गरिरहेको संस्थाका सचिव केशवराज शर्माले बताउनुभयो । आर्थिक वर्ष २०७९÷८० देखिनै सुरु भएको पञ्चवर्षिय योजना अन्तर्गत भल्ब च्याम्बर निर्माण, पाइपलाइन विस्तार, वास लाइनको व्यवस्था, रिचार्ज स्टेशन निर्माण गर्ने, प्रेशर ट्रिटमेण्ट प्लान्टहरु, खानीपानी सुरक्षा र सचेतना, बैकल्पिक स्रोतको खोजी, आयोजनाको सुधार विस्तार लगायतका योजनाहरुमा प्रत्येक वर्ष क्रमशः काम हुँदै आएको सचिव शर्माले बताउनुभयो ।
यस संस्थाले नीतिगत सुधार तथा अन्य सञ्चालन प्रणाली सहज गराउन आठवटा क्लष्टरमा विभाजन गरिएको छ ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले सुरक्षित खानेपानी वितरणका लागि सरसफाईको क्षेत्रमा पनि बृहत्तर काम गरिरहेको बताउनुभयो । सरकारी विद्यालयहरुलाई वार्षिक पानीको खपत रकमको २५ प्रतिशत रकम छुट दिने व्यवस्था मिलाएको छ ।
विद्यालयहरुलाई प्रत्येक अषाढ मसान्तपछि वर्ष भरि भुक्तानी गरेको रकमबाट २५ प्रतिशत रकम फिर्ता गर्दै आएको छ । यो रकम विद्यालयको सरसफाईमा लगाउनुपर्दछ । सचिव शर्मा भन्नुहुन्छ “यसको प्रभावकारीता कार्यान्वयनका लागि विद्यालयले आगामी दिनमा सरसफाईको क्षेत्रमा काम गरेको बील सहित दाबी गर्नुपर्ने प्रावधान मिलाउन लागिएको छ ।”
गैँडाकोट पम्पिङले पाँचहजार लिटर मात्र मासिक खपत गर्ने उपभोक्ताहरुलाई पूर्णरुपमा महशुल छुट दिदै आएको छ । गरिब विपन्न कार्यविधि बनाइ गरिब तथा विपन्न कोषको स्थापना गरि सञ्चालन मुनाफाको ५ प्रतिशत रकम कोषमा राख्ने र कोषकै रकमबाट गरिब विपन्नका लागि सहजीकरण गर्ने गरी संस्थाले काम अघि बढाएको छ ।