पढाइले मानिसलाई निखार्छ, सकारात्मक बनाउँछः पत्रकार तथा लेखक ददि सापकोटा

२०८२ मङ्सिर २६ शुक्रबार १८:२७:०० मा प्रकाशित

गैंडाकोट । “पढ्ने मानिसले नराम्रा काम गर्दैनन्, अध्ययनले व्यक्तिलाई निखार्छ, बुझ्ने बनाउँछ,” पत्रकार तथा लेखक ददि सापकोटाले बताउनुभएको छ । सामुदायिक रेडियो विजय एफएमको आयोजनामा सञ्चालन भइरहेको पठन संस्कृति अभियानको १९ औँ श्रृङ्खलामा प्रमुख अतिथिका रूपमा बोल्दै सापकोटाले पठन संस्कृतिको विस्तार आजको समयका लागि अत्यन्त आवश्यक भएको बताउनुभएको हो ।


सापकोटाले नियमित अध्ययन-अनुसन्धानले व्यक्तिगत र सामाजिक ज्ञान अभिवृद्धि गराउने, व्यक्तिको बोल्ने शैलीमा विकास हुने र नयाँ-नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुने उल्लेख गर्नुभयो। “आजका बालबालिका काचो माटोजस्तै हुन्, उनीहरुलाई यो समयमा जे सिकायो उनीहरुले त्यहीँ सिक्ने हुँदा उनीहरूलाई राम्रा कुरा, संस्कार, संस्कृतिको ज्ञान र प्रकृतिको महत्त्व बुझाउनु अत्यावश्यक रहेको सापकोटा बताउनुहुन्छ । पठन संस्कृतिले बालबालिकामा पढ्ने, सिक्ने, सोच्ने बानीको विकास गराउनुका साथै सामाजिक बनाउने हुँदा विद्यार्थीका लागी पनि पठ्न संस्कृति आवश्यक रहेको सापकोटाको भनाई छ । 


वन्यजन्तु संरक्षण र वातावरणीय अध्ययनमा गहिरो रुचि राख्ने सापकोटाले बाघ, गैंडा, हात्ती लगायतका वन्यजन्तुहरूको जीवनशैली, बासस्थान र व्यवहारबारे विस्तृत अनुभव राख्नुभयो । कार्यक्रममा बोल्दै उहाँले वन्यजन्तुहरू कारणवश मात्र आक्रामक देखिने र उनीहरूको सामूहिक जीवनशैलीले सुरक्षा प्रणालीमा काम गर्ने बारेमा जानकारी दिनुभयो ।


कार्यक्रममा ४ जनाले पाठकीय अनुभूति राख्नुभएको थियो । कार्यक्रमको सुरुवातमा लेखक धर्मराज सापकोटाले डेभिड स्जको ‘फ्लेश’ पुस्तकमाथि समीक्षा गर्नुभयो । त्यस्तै, मेनका चापागाईले सीमा आभासको ‘महायुग’, सरस्वती तिमिल्सीनाले महानायक राजेश हमालको ‘युगदेखि युगसम्म’ र लेखाराम सापकोटाले गजल वाचन गर्नुभएको थियो । कार्यक्रममा विजय सामुदायिक शिक्षा सदनका विद्यार्थीहरूको उपस्थिति रहेको थियो।


सामुदायिक रेडियो विजय एफएमको आयोजनामा भइरहेको पठन संस्कृति अभियानले समुदायमा पठन संस्कृतिको विकास गराउन मद्दत गरेको विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाका अध्यक्ष त्रिलोचन सापकोटाले बताउनुभएको छ ।

२०८१ साल वैशाख १५ गतेबाट पठन संस्कृति अभियान सुरु भएको थियो र हरेक महिनाको अन्तिम शनिबार यो कार्यक्रम विजय विकास स्रोत केन्द्रको सभाहलमा हुँदै आइरहेको छ । यस कार्यक्रममा पढ्नका लागि उत्प्रेरित गर्ने, पढ्नका लागि पुस्तक फिर्ता गर्ने गरेर उपलब्ध गराउने, छलफल गर्ने र आफूले पढेका पुस्तकका बारेमा आफूलाई लागेको कुरासँगसँगै आफ्ना नयाँ अनुभवहरू पनि साटासाट गर्ने गरिन्छ ।