स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरु पक्राउ
माडी । माडी नगरपालिकास्थित बघौडा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । गत बिहीबार राति १०ः१५ बजेको समयमा चाररपाँच जनाको समूहमा आएका युवाले आक्रमण चिकित्सक स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।
इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक किरण राईले अस्पतालले शुक्रबार निवेदन दिएपछि चार जना आरोपीलाई पक्राउ गरिएको जानकारी दिनुभयो। पक्राउ पर्नेमा माडीका किरण खाती, सङ्गम तिवारी, विकास गुरुङ र प्रकाश गौतम रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक राईले भन्नुभयो, ‘चिकित्सकहरुले कुटपिटमा मुद्दा चलाउने भन्दै हुनुहुन्छ, कुटपिटको मुद्दा सिधैँ अदालतबाट चल्छ ।’ बघौडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.धीरञ्जनकुमार साहका अनुसार मङ्सिर ११ गते राति १०ः१५ बजेको समयमा अस्पताल परिसरभित्रै आक्रमण भएको हो । युवाले मादक पदार्थ सेवन गरी आक्रमण गरेको उहाँको भनाइ छ ।
डा.साहका अनुसार डा.दीपेन्द्र विश्वास, डा.देवेन्द विश्वास, हेअ अनुप सुवेदी, कविराज तिवारीलगायत चिकित्सक स्वास्थ्यकर्मीमाथि घाउचोट हुने गरी कुटपिट भएको छ । उनीहरुले अपशब्द बोल्दै गालीगलौजसमेत गरेको उहाँले जानकारी दिनुभयो । नेपाल चिकित्सक संघ चितवनका वरिष्ठ उपाध्यक्ष डा.दीपेन्द्र न्यौपानेले दोषीलाई कानुनअनुसार हदैसम्मको कारबाही हुनुपर्ने बताउनुभयो । रासस