चितवनमा एड्ससँगै यौन रोगको समस्या बढ्दो
चितवन । जिल्लामा भएका एचआईभी एड्सका सङ्क्रमितमध्ये यौन रोग सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । यहाँ रहेका एचआईभी एड्स सङ्क्रमितमध्ये ३५ जनामा यौन रोग देखिएको पाइएको छ । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रमोद पौडेलका अनुसार विगत १० महिनामा गरिएको एक हजार ४० जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा यौन रोगी भेटिएको हो । उनीहरूलाई भिरिङ्गी रोग देखिएको हो । उहाँका अनुसार असुरक्षित यौन सम्पर्क गर्दा सङ्क्रमितमा यौन रोग बढ्न थालेको हो ।
अस्पतालका अनुसार एड्स सङ्क्रमितमध्ये सात जनामा क्षयरोग देखिएको छ । त्रियानब्बे जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा यो रोग देखिएको हो । जिल्लामा हाल एक हजार दुई सय ४३ जना एड्स सङ्क्रमित रहेका छन् । जसमध्ये ३४ जनाले माडीको बघौडा अस्पतालबाट औषधि सेवन गरिरहेका छन् भने एक हजार २०९ जनाले भरतपुरमा रहेको एआरटी सेन्टरबाट औषधि सेवन गर्दै आएका छन् ।
विगत १० महिनामा जिल्लाका विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा ६६ जना नयाँ सङ्क्रमित भेटिएको पौडेलले जानकारी दिनुभयो । दुई सय ८५ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा एड्स सङ्क्रमित भेटिएको उहाँले बताउनुभयो । उहाँका अनुसार यस अवधिमा भरतपुर अस्पतलाको एआरटी सेन्टरमा औषधि सेवनका लागि १०४ जना बिरामी थपिएका छन् । यहाँ थपिएका नयाँ सङ्क्रमितसहित अन्य जिल्लाबाट स्थानान्तरण भएका बिरामीसमेत यहाँबाट सेवा लिने गरेको उहाँले बताउनुभयो ।
भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेसनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार यहाँबाट औषधि खाँदै आएका ६५ जना बिरामी स्थानान्तरण भएका छन् । अठ्ठाइस् जनाले औषधि सेवन गर्न छाडेको उहाँले जानकारी दिनुभयो । यहाँ रहेका सङ्क्रमितमध्ये १३ जनाको मृत्यु भएको उहाँले बताउनुभयो । एड्स रोग लागेका सङ्क्रमितलाई हेर्ने दृष्ट्रिकोणमा अझै परिवर्तन आउन नसकेको उहाँले बताउनुभयो । सङ्क्रमितहरूलाई उपचारका लागि अस्पताल ल्याउनका लागि एम्बुलेन्सहरूलेसमेत गाह्रो मान्ने गरेका उहाँको भनाइ छ । रासस