स्वतन्त्र भूतपूर्व सैनिक सहकारीद्धारा गैँडाकोटका सात मन्दिरमा सरसफाइका सामग्री वितरण

२०८२ मङ्सिर १२ शुक्रबार १६:१२:०० मा प्रकाशित

गैँडाकोट । स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुक्रबार गैँडाकोटका सात वटा मन्दिरमा सरसफाइका सामग्री वितरण गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व बहन र स्वीकृत नीति तथा कार्यक्रमअनुसार एकै समयमा विभिन्न मन्दिरमा कुचो, डस्टबिनलगायतका सामग्री हस्तान्तरण गरेको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत शिव पौडेलका अनुसार गैँडाकोट मौलाकालिका मन्दिरसहित अन्य छ वटा मन्दिरमा टिम बनाएर सामग्री वितरण गरिएको हो । मौलाकालिका मन्दिरमा संस्थाका अध्यक्ष बेद बन्धु रेग्मीको आतिथ्यतामा तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सालिकराम सापकोटाको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रमसमेत गरिएको थियो ।

अन्य मन्दिरहरूमा टिम लिडरको नेतृत्वमा सामग्री वितरण गरिएको थियो । हरेराम–हरेकृष्ण मन्दिरमा बेद बन्धु रेग्मी नेतृत्वमा पबित्रा देवी सिग्देल, निशा पाटा मगर र शिव पौडेललाई सामग्री हस्तान्तरण गरिएको थियो ।

त्यस्तै, गणेश पञ्चायन मन्दिरमा हर्कबहादुर घर्तिको टिम लिडरमा शेषकान्त शर्मा र सरस्वती पोखरेल, कोटेश्वर शिवालय मन्दिर (गैँडाकोट-१) मा तर्कबहादुर थापाको टिममार्फत देशमान सुनार र शोभा ढकाललाई सामग्री उपलब्ध गराइएको थियो ।

गैँडाकोट-८ स्थित हनुमान मन्दिरमा फूलुमाया पराजुलीको नेतृत्वमा तर्कबहादुर थापा, एकबहादुर थापा र सँगिता अर्याललाई सामग्री प्रदान गरिएको थियो ।

त्यस्तै, कैलाश सन्यास आश्रममा गगन बहादुर बोहोराको टिम लिडरमा चुडाबहादुर ठकुरी र रन बहादुर थापा, तथा राम मन्दिर शवदाह स्थल (समसानघाट) मा कृष्ण बिलास अधिकारीको नेतृत्वमा रामप्रसाद कंडेल र तेजबहादुर बोहोरालाई सरसफाइ सामग्री हस्तान्तरण गरिएको कार्यकारी अधिकृत पौडेलले जानकारी दिनुभएको छ ।

सहकारीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअनुसार समुदायसँग जोडिने कार्यक्रम जारी राख्ने जनाएको छ ।