बेनी-पाखापानी सडकःकिराखोर-नेप्टेचौर खण्डमा कालोपत्र हुँदै
म्याग्दी । बेनी-पाखापानी सडकअन्तर्गत किराखोर-नेप्टेचौर खण्डमा कालोपत्र गर्न थालिएको छ । बेनी नगरपालिका-९ किराखोरदेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्मको दुई किलोमिटर सडक ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र थालिएको हो ।
बेनी नगरपालिका-९ का वडाध्यक्ष चक्र केसीका अनुसार सात मिटर चौडा सडक कालोपत्र हुनेछ । नेप्टेचौर-तोरीपानी खण्डमा थप दुई किलोमिटर ग्राभेल पनि गरिने छ ।
वर्षा यामको पानीको निकासका निम्ति नाला र टेवा पर्खाललगायत सडक संरक्षणका संरचना पनि धमाधम निर्माण भइरहेका छन् । यो सडक कालोपत्र गर्न रु १० करोड १६ लाख एक हजार ३६४ मा निर्माण कम्पनीसँग सम्झौता भएको छ । रासस