भरतपुर अस्पताल ८८ अंकसहित देशकै सर्वोत्कृष्ट

२०८२ मङ्सिर १२ शुक्रबार १४:३४:०० मा प्रकाशित

भरतपुर । संघीय अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा चितवनको भरतपुर अस्पतालले सबैभन्दा बढी ८८ अंक प्राप्त गर्दै देशकै उत्कृष्ट अस्पताल बनेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१-८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा जानकारी दिँदै नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा.कृष्णप्रसाद पौडेलले भरतपुर अस्पतालले गुणस्तरीय सेवा प्रवाहमा उल्लेखनीय प्रगति गरेको बताउनुभयो । यस वर्षको मूल्यांकनमा १३ वटा संघीय अस्पतालहरूलाई समेटिएको थियो ।

 

मापदण्डमा दोस्रो स्थानमा बाँकेको भेरी अस्पतालले ८३ अंक प्राप्त गरेको छ । त्यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ७९, धरान स्वास्थ्य विज्ञान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ७५, डडेल्धुरा अस्पताल ७३, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ७१ प्रतिशत न्यूनतम सेवा मापदण्ड पूरा गरेका छन् । त्यस्तै, वीर अस्पताल ६७, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल ६४, कोशी अस्पताल ६३, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ५९, नारायणी अस्पतालले ५६ प्रतिशत मापदण्ड पुरा गरेका छन्।