गैंडाकोटमा भएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा अक्सफोर्ड सेकेन्डरी स्कुल प्रथम

२०८२ मङ्सिर १० बुधबार १९:२९:०० मा प्रकाशित

गैंडाकोट । अक्सफोर्ड सेकेन्डरी स्कुलको आयोजनामा सम्पन्न अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा अक्सफोर्ड सेकेन्डरी स्कुल प्रथम भएको छ। विद्यार्थीहरूको बौद्धिक क्षमता पहिचान तथा शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टको सभाहलमा बुधबार भएको प्रतियोगितामा गैंडाकोटका १३ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

प्रतियोगितामा बाल विकास इंग्लिस स्कुल दोस्रो, विजय सामुदायिक शिक्षा सदन तेस्रो र साइनिड्ड इंग्लिस सेकेन्डरी स्कुल चौथो भएको थियो ।

 

कार्यक्रममा अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टका प्राचार्य प्रोफेसर डा. इन्जिनियर हरीप्रसाद भण्डारीले हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीको मनोविज्ञान बुझ्न मद्दत हुने र उनीहरूको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

त्यस्तै, गैंडाकोट नगरपालिकाका नगर शिक्षा शाखा अधिकृत रामप्रसाद अधिकारीले अन्तरविद्यालयस्तरीय प्रतियोगिताले विद्यार्थीको बौद्धिक विकाससँगै आपसी आत्मीयता बढाउने अभिव्यक्ति दिनुभयो । उहाँले पाठ्यपुस्तकका प्रश्नसँगै बाहिरी ज्ञानका प्रश्नहरू समेटिँदा विद्यार्थीको शैक्षिक गुणस्तर अझ बलियो बन्ने बताउनुभयो । प्रतिस्पर्धामा जित-हारभन्दा पनि सहभागी हुनु नै ठूलो उपलब्धि भएको बताउँदै राष्टपती रनि∙ शिल्ड प्रतियोगितामा अक्सफोर्ड सेकेन्डरी स्कुल दोस्रो भएकोमा बधाइ तथा शुभकामना दिनुभयो । 

शैक्षिक सल्लाहकार डा. बसन्त प्रसाद अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको क्विज मास्टर देबीलाल जोशीले सहजीकरण गर्नुभएको थियो भने आइटी सपोर्टमा राम तामाङले सहयोग गर्नुभएको थियो ।

कार्यक्रममा अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टका सहायक प्राचार्य कृष्णहरी पौडेल, शैक्षिक संयोजक कमल प्रसाद वाग्ले, क्विज कोअर्डिनेटर श्रीधर पाठक, सूर्योदय विद्या मन्दिरका प्रधानाध्यापक भरतमणि पौडेल, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । 

विद्यालयका प्रशासन तथा लेखा प्रमुख नारायण सिग्देलका अनुसार प्रतियोगिताका ६० प्रतिशत प्रश्न कक्षा ६, ७ र ८ को पाठ्यक्रमबाट र ४० प्रतिशत बाहिरी स्रोतहरूबाट तयार गरिएको थियो।